जबर्जस्ती करणी गरेको आरोपमा पर्साबाट भारतीय युवक प्रहरीको फन्दामा
टुडेपाटी-
पर्सा, चैत २१ गते ।
पर्सा प्रहरीले धादिङकी १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेर फरार भएको आरोपमा एकजना भारतीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला थाना आदापुर औरहिया पञ्चायत जमुनभरा घर भइ धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मलेखु बजारस्थित मलेखु कार वास एण्ड वर्कसपमा काम गर्ने २५ वर्षका सन्तयाज हवारी छन् ।
पक्राउ परेका हवारी गत चैत ८ गते बालिकालाई कोठाभित्र पसेर जबर्जस्ती करणी गरी फरार भएको प्रहरीले जनाएको छ ।
जबर्जस्ती करणी गरी फरार भएको भन्ने इलाका प्रहरी कार्यालय गजुरी धादिङबाट प्राप्त सूचनाको आधारमा हवारीलाई बाराको देवताल गाउँपालिका ७ पिपरपाती जब्दीमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
पक्राउ परेका उनलाई थप कारबाहीको लागि इलाका प्रहरी कार्यालय गजुरी धादिङ पठाइएको मिश्रले बताए ।
Sponsored