सिरहामा सिमेन्ट उद्योगको टिपरले सडकमा बनाएको खाल्डा र उडाएको धुलोले सर्वसाधारणलाई सास्ती
बिनय यादव-
सिरहा, फागुन २८ गते ।
सडकक्षेत्रमा कुहिरो लागेको जस्तै देखिँदै छ । सर्वसाधार कसैले लखेटेजस्तै दगुडेर सडक पार गर्दै छन्, कोही मास्क लगाएर, त कोही कपडा र हातले मुख नाक छोपेर हिँडिरहेका छन् । जाडोको मौसम भएर यो ठाउँमा कुहिरो लागेको जस्तो देखिएको होइन, न त कोरोनाको त्रासले सर्वसाधारणले मुख नाक छोपेका हुन् ।
कारण हो, टिपर आतंक अनि धुलो र धुवाँ । मिर्चैया-कटारी चोकमा हुने सर्वसाधारणका लागि यो नचाहँदा नचाहँदै खानुपर्ने विषजस्तै भइसकेको छ । कटारी चोक एउटा उदाहरण मात्रै हो, मिर्चैयादेखि करिब ३ किलोमिटर पूर्वमा अवस्थित मारुती सिमेन्ट उद्योग र मिर्चैयाको पश्चिम छेउमा अवस्थित सौर्य सिमेन्ट उद्योगका टिपर चल्ने भित्री पहाडको खानीदेखि सिमेन्ट उद्योगसम्मको सडकखण्ड आसपासको जनजीवन उस्तै छ ।
टिपरले लिएर आउने चुन ढुंगाको धुलो उड्दा सडकक्षेत्र धुलाम्य हुनुका साथै बढ्दो वायु प्रदूषणबाट सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न थालेको छ । सिमेन्टको कच्चा पदार्थका रूपमा रहेको चुन ढुंगा बोकेको ट्रक त्रिपालले छोपिएर ल्याए पनि त्यसको कण र धुलो उड्ने गरेकाले वायु प्रदूषण बढ्नुका साथै ड्युटीमा सुरक्षाकर्मी तथा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको गुनासो बढ्दै गएको छ ।
चुन ढुंगाको धुलो उडेर आँखा, नाक, मुखमा पस्ने गरेका कारण स्वास्थ्यमा असर पर्ने गरेको हो । निरन्तरको धुवाँ र धुलोले स्थानीयको स्वास्थ्यमा विभिन्न प्रकारका समस्या निम्तिन थालेका छन् ।
सम्बन्धित निकायले चुन ढुंगा ल्याउने कामलाई व्यवस्थित गर्नुपर्ने माग स्थानीयवासीको छ । ‘टिपर आतंकले यहाँ बसिसक्नु छैन,’ कटारी चोकमै किराना पसल सञ्चालन गरिरहेका स्थानीय व्यवसायी मनोज साहले भने, ‘मेरा घरबेटीले आफ्ना अनाजसमेत बाहिर सुकाउन पाउँदैनन्, धुलोले मान्छे बिरामी पर्दै छन्, यसलाई व्यवस्थित नगरिए मान्छे बिरामी पर्ने क्रम बढ्दै जान्छ ।’
Sponsored
यहाँ अवस्थित दुवै सिमेन्ट उद्योगका लागि भित्री खानीबाट प्रतिदिन झण्डै १ हजारवटा टिपर चुन ढुंगा बोकेर आउँछन् । यसमध्ये मारुती सिमेन्ट उद्योगका लागि मात्रै दैनिक ६ सयभन्दा बढी टिपर आउनेजाने गरेका छन् । सौर्य सिमेन्ट उद्योग भर्खरै परीक्षण थालेकाले यसका टिपर भने ४ सयको हाराहारीमा दैनिक गुड्छन् ।
चुन ढुंगाको धुलोको कण उड्दा राजमार्गमा हुने मानिसलाई मास्क लगाउनपर्ने बाध्यता छ भने राजमार्गवरिपरिका घरमा समेत बिनामास्क बस्न सक्ने अवस्था छैन । ‘राजमार्गवरिपरि आधा घण्टा बसियो भने बिरामी परिन्छ,’ स्थानीय रामेश्वर यादवले भने, ‘सम्बन्धित निकायले यो आतंक न्यूनीकरण गर्न समयमै ध्यान दिन जरुरी छ ।’
दिनमा मात्रै नभई रातिको समयमा पनि बाक्लो संख्यामा टिपर गुड्दा सडक आसपासमा निन्द्रासमेत बिच्किने गरेको स्थानीय बताउँछन् । निरन्तर रूपमा टिपरको आवतजावत हुँदा धुलोले सर्वसाधारणलाई असर पर्ने गरेको ड्युटीमा खटेका एक प्रहरीले बताए ।
जब टिपर चल्न थाल्छ, तब बढ्न थाल्छन् रुघाखोकीका बिरामी
खानी जानका लागि जोखिमपूर्ण पहाडको बाटो भएकाले झरीको सिजनमा टिपर चल्दैनन् । यसबाहेकका महिनामा टिपरका लस्कर आउनेजाने क्रम जारी रहन्छ । जब टिपर बन्द हुन्छ, तब स्थानीय अस्पतालमा रुघाखोकीका बिरामी पनि कम आउँछन् ।
तर, जब टिपर चल्न सुरु हुन्छ, तब स्थानीय अस्पतालमा रुघाखोकीका बिरामी बढ्न थाल्छन् । पछिल्लो समय पनि यहाँका अस्पतालमा रुघाखोकीका बिरामी बढेको पाइएको छ । टिपर चल्न थालेदेखि रुघाखोकीका बिरामीको संख्यामा ह्वात्तै वृद्धि भएको स्थानीय अस्पतालका चिकित्सक बताउँछन् ।
अस्पतालमा अचेल आउने बिरामीमध्ये अधिकांश रुघाखोकीकै बिरामी देखिएको प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयाका प्रमुख डा. विनोदकुमार मण्डलले बताए । ‘दिनमै हजारभन्दा बढी टिपरको आवतजावत हुन्छ, सडक पनि जीर्ण अवस्थामा पुगेकाे छ, त्यसैले धुलो उड्नु स्वाभाविक नै हो,’ उनले भने, ‘यसकारण स्थानीयमा रुघाखोकीका समस्या बढेको देखिएको हुन सक्छ ।’
चुन ढुंगाका साना कण सीधै फोक्सोमै गएर बस्ने भएकाले यसले मानिसमा एलर्जी, निमोनिया, रुघाखोकीजस्ता समस्या निम्त्याउने गरेको डा. मण्डल बताउँछन् ।
सडकमा बाँकी छैन ज्यान, ओभरलोडले खाल्डा परे सडक
टिपर आतंकबाट सर्वसाधारण मात्रै प्रभावित छैनन्, ओभरलोड बाकेर हिँड्ने टिपरले सडकको कालोपत्रे पनि अलपत्र अवस्थामा पुगेकाे देख्न सकिन्छ । यो सडकमा हिँड्ने टिपरको लोड क्षमता १० टन छ । तर, उनीहरूले २० टनसम्म लोड बोकेर हिँड्ने गरेका छन् । सिमेन्ट उद्योगले टनको हिसाबले भाडा र चालकलाई भत्ता दिने गरेका छन् । यस कारण पनि टिपरवालाहरूले दोब्बरसम्म लोड ओसार्ने गरेका छन् ।
यसरी दिन र रात निरन्तर रूपमा ‘ओभरलोडेड’ टिपर चलेको चल्यै गर्दा सडक फुटेर चिराचिरा परेको छ । टिपरले लोड क्षमताभन्दा पनि दोब्बर लोडमा चुन ढुंगा ढुवानी गर्दा राजमार्गको अधिकांश ठाउँको कालोपत्रे उप्किएर खाल्डा परेका छन् ।
सिमेन्ट उद्योगको चुन ढुंगा ल्याइने भित्री पहाडको खानीदेखि सिमेन्ट उद्योगसम्मको साना र ठूला राजमार्गको दुर्दशा उस्तै छ । यसरी यी सिमेन्ट उद्योगले मनोमानी ढंगले टिपरमार्फत क्लिंकर ढुवानी गराउँदा सडकको दुर्दशा त भएको छ नै, सडकको धुलोले समेत जनजीवन प्रभावित छ ।
टिपरको संख्या बाक्लो हुँदा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सवारी पनि सहजै गन्तव्यमा पुग्दैनन् । ‘टिपरको लस्करका कारण बाटोमा सर्वसाधारणलाई बाटो काट्नसमेत समस्या हुन्छ,’ एक स्थानीयले भने, ‘अरु सवारीसमेत गुडाउन गाह्रो छ ।’
सवारीको चाप र त्यसले निम्त्याउने दुर्घटनाका कारण अनुसन्धान र व्यवस्थापनमा जुट्न समस्या भएको ट्राफिक प्रहरी बताउँछन् । टिपरले उडाउने धुलोका कारण ड्युटी गर्नसमेत समस्या हुने गरेको मिर्चैयाका ट्राफिक प्रमुख खिलराज खतिवडाको गुनासो छ । सम्बन्धित निकायले यसको न्यूनीकरणका लागि अब ढिला गर्न नहुने स्थानीयको सुझाव छ ।