माधव पक्षको तयारी : तल्लो तहसम्म समानान्तर कमिटी गठन र राष्ट्रिय भेला बोलाउने
टुडेपाटी-
जनकपुरधाम, फागुन २८ गते ।
नेकपा एमालेको माधव नेपालपक्षले बालुवाटारमा भएको निर्णयहरुलाई अस्वीकार गर्दै तल्लो तहसम्म समानान्तर कमिटी बनाउने निर्णय गरेको छ ।
माधव पक्षको स्थायी कमिटी बैठकले शुक्रबार पार्टीको बालुवाटारमा भएको बैठकले गरेका निर्णयहरुलाई अस्वीकार गर्दै माथिदेखि तलसम्म समानान्तर कमिटी बनाएर अघि बढ्ने निर्णय गरेको हो ।
ओलीले बोलाएको केन्द्रीय समितिको विशेष बैठकले पार्टीमा नेताहरुको जिम्मेवारी हेरफेर गर्नुका साथ पूर्वमाआवादीका २३ नेतालाई केन्द्रीय समितिमा मनोनित गरेको थियो । उक्त निर्णयलगत्तै बसेको नेपाल समूहको बैठकले त्यसलाई स्वीकार नगर्ने र चैतको पहिला साता समानान्तर कमिटीहरु घोषणा गर्ने निर्णय भएको एक नेताले बताए ।
यस्तै माधव पक्षले पार्टीकाे राष्ट्रिय भेला बोलाउने भएको छ ।
केन्द्रीय सदस्य, सांसद, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी, जनसंगठनका पदाधिकारी र जनसंगठनका जिल्ला अध्यक्षहरु सहभागी हुने नेता बेदुराम भुसालले बताए ।
‘केपी ओलीले विघटन गर्नुभयो, हामी पुनर्गठन गर्छौं,’ उनले भने ।
Sponsored
ओलीले नेपाल पक्षलाई बाइपास गरेर नेताहरुलाई जिम्मेवारीविहीन बनाएपछि शुक्रबार आकस्मिक रुपमा सो पक्षका स्थायी समिति सदस्यहरुको बैठक बसेको थियो।
सो बैठकले भोलि शनिबार केन्द्रीय सदस्यहरुको बैठक राखेको छ।
प्रधानमन्त्री ओलीले आफू पक्षमा रहेका सांसदहरुविरुद्ध पनि केही कदम चाले के गर्ने भन्ने बारेमा पनि नेपाल पक्षले छलफल सुरु गरिसकेको छ।
सांसदहरुमध्ये प्रत्यक्ष निर्वाचितलाई कारवाही गरे पनि उनीहरु स्वतन्त्र सांसदको हैसियतमा संसदमा रहिरहन सक्छन्। तर, आफ्नो पक्षका समानुपातिक सांसदलाई ओलीले हटाउन खोजे सामूहिक राजीनामा दिने समेत तयारी भएको स्रोतले जनाएको छ।
बालुवाटारनिकट एक नेताका अनुसार अध्यक्ष ओलीले केहि नेताहरुलाई आफूले माधव नेपालबिना नै पार्टी चलाउने संकेत गरेका थिए।
उनले शुक्रबार त्यस्तै कदम चालेका छन्।
वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम लगायत उनीहरु पक्षका कुनै पनि नेताहरुलाई जानकारी नदिई राखिएको आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठकबाट उनले २३ जना माओवादी नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन्।