बटेश्वरका अध्यक्ष डम्बरलाई अख्तियारले बचाउन खोजेको आरोप, जसपाद्धारा आन्दोलन घोषणा
टुडेपाटी-
बटेश्वर, फागुन २४ गते ।
८ लाख कमिसनको रकम फालेर फरार भएका धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ नगरेपछि गाउँपालिकाको कार्यालयमा स्थानीयले लगाएको ताला अझै खोलेका छैनन् ।
गएको फागुन १८ गतेदेखि नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयले अध्यक्ष राउत, निमित्त प्रमुख प्रशासकीय र लेखा शाखा शाखामा ताल्चा हानदिएका छन् ।
यसले सेवाग्राहीको कामकाज प्रभावित भएको छ ।
ताला खोल्ने विषयमा वार्ताकालागि जिल्ला प्रशासन, समन्वय समिती र गाउँपालिकाका कर्मचारी तथा प्रतिनिधिले हालसम्म कुनै चासो नदेखाएको जनता समाजवादी पार्टीका नेता राजकिशोर महतोले बताए ।
Sponsored
सेवाग्राही मार्कामा पर्दा गाउँपालिका उपाध्यक्ष प्रमिला देवी महतोले समेत कुनै भूमिका खेल्न सकेकी छैनन् । अध्यक्ष राउतलाई अबिलम्ब पक्राउ गर्न र हरहिसाब सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ ।
अध्यक्ष राउतलाई फिल्मी शैलीमा अख्तियार र प्रशासनले नै भगाउन सघाएको हुनसक्ने जसपा नेता महतोले आशंका व्यक्त गरे ।
भ्रष्टाचार गर्नुमा निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र लेखाका कर्मचारीको समेत उतिकै दोष रहेको उनको आरोप छ ।
कार्यालय भित्रको काजगाजत र अन्य भ्रष्टाचारको प्रमाण नष्ट गर्नसक्ने भन्दै ताला नखोलेको उनको भनाई छ ।
यस्तै अध्यक्ष राउतलाई पक्राउ र अबिलम्ब हरिहिसाब नदिएको विरोधमा जसपाले आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
आइतवार बसेको जसपाको बैठकले मंगलवार गाउँपालिकाभरी मोटरसाइकल र्याली निकाल्ने र बुधवार विरोध रयली पश्चात कोणसभा आयोजना गर्ने निर्णय भएको जसपा नेता महतोले जानकारी दिए ।
आफुहरुको माग पुरा नभए थप सशक्त आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिए ।
रकम फालेर भागेको हप्ता दिन पुग्न लाग्दा समेत अध्यक्ष राउत अहिलेसम्म पक्राउ पर्न सकेको छैन ।
सत्ता र शक्तिको आडमा उनलाई अख्तियारले संरक्षण दिएको हुनसक्ने स्थानीयले आरोप लगाउँदै आएका छन् ।
तर उनी घुस रकम फालेर भागेदेखि निरन्तर खोजीकार्य जारी राखेको अख्तियारले जनाएको छ ।
गएको फागुन १७ गते साँझ अख्तियारले पछ्याएपछि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित औरही खोलाको किनारमा ८ लाख रुपैयाँ फाल्दै गाडीबाट हाम फालेर भागेका थिए ।