झा दम्पती बेपत्ता प्रकरण : चौबिसौ घण्टा गाउँमा प्रहरीको पहरा, स्थानीयमा त्रास
रोहित महतो-
जनकपुरधाम, फागुन १४ गते ।
महोत्तरीको पिपरा गाउँपालिकास्थित सोहडवामा यखितेर सन्नाटा छाएको छ । सोमबार रातिदेखि मुसाफिर झा र उनकी पत्नी गीता झा बेपत्ता भएको घटनाले टोल सुनसान छ ।
गाउँमा चहलपहल निकै कम देखिन्छ । प्रहरीले चौबिसै घण्टा झाको घरको चारैतिर पहरा दिइरहेको छ । आउजाउ गर्नेमाथि कडा निगरानी राखेको छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय महोत्तरी र ईलाका प्रहरी कार्यालय सोहडवाको प्रहरी टोली सुरक्षा तथा अनुसन्धानका लागि खटिएको छ । तर अनुसन्धानमा अहिलेसम्म खासै उपलब्धि नभएको प्रहरीको भनाइ छ ।
प्रमाण नष्ट हुन नपाओस् भनेर प्रहरीले बेपत्ता भएका झा दम्पतीका दुवै कोठामा ताला लगाइदिएको छ । झालाई कोठाबाट घिसारेर लगिएको चिनो अझै स्पष्ट छ ।
Sponsored
झा दम्पती अलग(अलग कोठामा सुतेका थिए । कोठाको छेउमै उनकी बुहारी सुतेकी थिइन् । मंगलबार बिहान आफूहरु उठेपछि नदेखेको र कोठामा खोज्न जाँदा ओछ्यानमा पनि नदेखेपछि छिमेकीलाई भनेको झाका दुबै जना बुहारीले प्रहरीलाई बयान दिएका छन् ।
झा सुतेको कोठासँगै टाँसिएको कोठामा सुतेकी बुहारीले तोसक, सिरक, झुल, तन्नालगायतका कपडासहित सासु(ससुरा बेपत्ता हुँदासमेत थाहा नपाएको बताएपछि छिमेकी तथा प्रहरी पनि चकित छ ।
मंगलबार बिहानैदेखि झाको घर आसपास प्रहरीको बाक्लो चहलपहल छ । स्थानीय त्रसित छन् ।
झाबारे सोधखोज तथा चर्चा हुँदा स्थानीयका आँखा रसाउँछन् । बिहीबारसम्म पनि कुनै खबर नआएपछि स्थानीय भयभित छन् । घटनामा संलग्न व्यक्ति तथा कारणबारे कसैले यकिनका साथ भन्न सकेका छैनन् । आफन्त तथा छिमेकी परिवारका सदस्यलाई सान्तवना दिँदै गरेका भेटिन्छन् ।
‘झाजी एकदमै शान्त स्वभावको हुनुहुन्थ्यो । न कोहीसँग झगडा पर्थ्यो न कसैसित दुश्मनी थियो । तर वहाँहरुलाई कसले र किन लगे हामीले बुझ्न सकेका छैनौ,’ बेपत्ता भएकी गिता झाकी देउरानी रुपाले भनिन्, ‘उहाँहरु बेपत्ता भएको दिनदेखि न हामीले राम्ररी खाना निल्न पाएका छौँ न सुत्न नै पाएका छौँ ।’
रुपाका अनुसार झाका दुबै जना बुहारीलाई प्रहरीले अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी कार्यालयमा सोधपुछ गरी साँझ छोडीदिने गरेको छ । सोमबारदेखि बिहीबारसम्म उनीलगायत गाउँका दर्जनभन्दा बढीलाई प्रहरीले सोधपुछका लागि पक्रेर लगेको र पछि छोडेको उनले जानकारी दिइन् ।
दाजु-भाउजू बेपत्ता भएको घटनाले आफूहरुले पनि असुरक्षित महसुस गरिरहेको मुसाफिरका भाइ बालबोध झाले बताए । ‘दाइ-भाउजूलाई उठाएर लगिएको तीन दिन बित्न लाग्दा पनि कुनै अत्तोपतो छैन,’ उनले भने, ‘हामी एकदमै भयभित महसुस गरिरहेका छौँ ।’
मुसाफिरका भतिज पनि अनुसन्धानमा खटिए
घटना रहस्यमय देखिएपछि प्रहरीले विभिन्न कोँणबाट अनुसन्धान गरिरहेको बताएको छ । चलाखीपूर्ण तवरले घटना भएकाले अनुसान्धान पनि जटिल बन्दै गएको छ ।
प्रदेश– २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहका अनुसार पर्सामा कार्यरत नातामा मुसाफिरका भतिज सई अशोक झालाई पनि अनुसन्धानमा खटाइएको छ ।
‘घटनाको अनुसन्धानमा अहिलेसम्म खासै प्रगति छैन । अनुसन्धानमा सहयोग मिल्ला भनेर वीरगञ्जबाट उनको भतिजलाई पनि बोलाएका छौँ,’ डीआइजी सिंहले भने, ‘हामीले केही मानिसलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौँ ।’
प्रहरीसमेत घटनामा शंकाको घेरामा रहेको र दुईजनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको भनी चलेको हल्लाबारे कुनै सत्यता नरहेको उनले स्पष्ट पारे ।
झा दम्पती सुतेको दुबै कोठाबाट ओछ्यानसमेत लगिएको र गीता सुतेको ठाउँमा रगतको छिटा देखिएकाले घटनाबारे विभिन्न शंका उब्जिएको छ ।
महोत्तरीकै बगराको जग्गा विवादमा झा साक्षी बसेकाले घटनामा सोही विवादका विपक्षीको हात हुनसक्ने परिवारको आशंका छ । ‘उहाँको न कोहीसित झगडा परेको थियो न दुश्मनी थियो,’ झाका ज्वाइँ सुरेश झाले भने, ‘त्यसैले बगराको जग्गामा साक्षी बसेकाले घटना गराइएको हुनसक्छ ।’
यद्यपी घटनाका पछाडी अरु कारण पनि हुनसक्ने भन्दै उनले प्रहरीले सूक्ष्म र निष्पक्ष अनुसन्धान गरी दुबै जनाको शकुशल उद्धार गरिदिनुपर्ने माग गरे ।