उच्च अदालत जनकपुरमा न्यायमा ढिलाई, लक्ष्य अनुरुप मुद्दाहरुको फर्छ्यौट गर्न सकेन
टुडेपाटी-
जनकपुरधाम, फागुन १३ गते ।
उच्च अदालत जनकपुरले लक्ष्य अनुरुप मुद्दाहरुको फर्छ्यौट गर्न सकेको छैन्।
उच्च अदालत जनकपुरले आलु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब ६ सय मुद्दाको मात्र फर्छयौट गरेको उच्च अदालत जनकपुरका रजिष्ट्रार खङ्गराज अधिकारीले बताए।
उनका अनुसार चालु आर्थिक वर्षमा फर्छयौट गर्न लिएको लक्ष्यको २५।५ प्रतिशत मुद्दाहरु मात्र उच्च अदालतले फर्छयौट गर्न सकेको हो।
चालु आर्थिक वर्षमा २ हजार ९ सय ५८ मुद्दा फर्छयौट गर्ने लक्ष्य लिएकोमा माघ मसान्तसम्ममा २ हजार ३ सय ४५ मुद्दा फर्छयौट गर्ने लक्ष्य थियो तर चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ५ सय ९८ मुद्दाहरुको मात्रै फर्छयौट गर्न सकेको उनको भनाइ छ।
Sponsored
पछिल्लो वर्ष आएको कोरोना महामारी र जनशक्ति अभावका कारण मुद्दाहरु फर्छयौट समस्या भएको उनले बताए।
उनले जनशक्ति अभाव तथा कोरोना महामारीकै कारण मुद्दाहरुको फर्छयौट हुन नसकेकोले अदालतमा मुद्दाका चाप बढ्दै गएको बताए। यहाँ ९६ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल ५६ जना कर्मचारी मात्रै कार्यरत रहेका छन्।
रजिष्ट्रार अधिकारीले जनशक्ति अभाव भएकै कारण कानूनी ज्ञानमा पोख्त नभएका कर्मचारीहरुसँग समेत काम निकाल्नु पर्ने बाध्यता रहेको बताए।
उच्च अदालत जनकपुरमा दैनिक २० देखि २५ वटा मुद्दा दर्ता हुँदै आइरहेको उनले बताए।