TodayPati

मिटरब्याजी अनुरुद्ध २४ गुणाको तमसुक बनाएर ऋणी महिलालाई यौन सम्बन्ध राख्न दिन्छन् दबाब

शैलेन्द्र क्रान्ति

जनकपुरधाम, माघ १५ गते ।

चर्को ब्याजमा ऋण लगानी गरी ऋणीको उठिबास लगाउँदै आएका मिटरब्याजी अनुरुद्ध साहको अर्को धन्दाको खुलासा भएको छ।

Sponsored

महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुरका अनुरुद्धले अन्य साहु महाजनबाट सस्तोमा तमसुक किनेर मुद्दा लड्ने र गरिबलाई शोषण गर्ने गरेको रहस्य खुलेको हो।

भंगहा नगरपालिका ५ बस्ने ३८ वर्षकी श्यामपरी कुमारीले २ वर्षअघि छोरीको उपचारका लागि सोही नगरपालिकाको वडा नंं ३ बस्ने शिवशंकर साहको छोरा २८ वर्षीय रामलोचन साहसँग १ लाख ५० हजार रुपैयाँ ऋण लिएकी थिइन्। मासिक सैकडा ३ रुपैयाँ ब्याजदरमा। मिटरब्याजी रामलोचनले लेखपढ गर्न नजान्ने श्यामपरीबाट ९ गुना बढीको कपाली तमसुक १ फागुन २०७३ कै मितिको बनाएर सहीछाप गराए।

श्यामपरीले रामलोचनको सावाँब्याजसहित सबै चुक्ता गरिसकेकी छन्। तर, उनले श्यामपरीको कपाली तमसुक मिटरब्याजी अनुरुद्धलाई बेचिदिएका छन्। सोही तमसुक लिएर अनुरुद्धले जिल्ला अदालतमा २५ मंसिर २०७६ मा लिएको १२ लाख सावाँ र ब्याज ३ लाख ३८ हजारसहित १५ लाख ३८ हजार रुपैयाँ असुल उपर गरीपाऊँ भन्दै श्यामपरीमाथि मुद्दा दायर गरेका छन्।

Sponsored

२० पुस २०७६ मा जिल्ला अदालतबाट श्यामपरीलाई समन आएको छ। अनुरुद्धले सो तमसुक रामलोचनबाट किनेको र सोही अनुसारको ऋण र ब्याज चुक्ता गर्न दबाब दिइरहेको श्यामपरीले बताइन्।

‘मैले रामलोचनसँग छोरीको उपचारका लागि लिएको पैसा दुईवर्ष अघि नै तिरिदिएँ। उनले तमसुक आजभोलि भन्दाभन्दै फिर्ता गरेनन्। पछि अदालतबाट मुद्दाको समन आएपछि उनले अनुरुद्ध साहुसंग कपाली तमसुक बेचेको थाहा पाएँ,’ श्यामपरीले भनिन्, ‘घरमा आएर रामलोचनले सबै पैसा तिर्नुपर्छ भन्दै धम्काउँछ। कसैले बचाउँदैन भन्छ। रामलोचनसँग लिएको सबै पैसा चुक्ता गर् नत्र भएभरको सम्पत्ति लिलाम गर्छु भन्छ।’

श्यामपरीका पति वैदेशिक रोजगारको क्रममा साउदी अरबमा छन्। रामलोचन र अनुरुद्धको जालमा परेकी श्यामपरी गाउँसमाजका भद्रभलादमी गुहारिरहेकी छन्।

भंगहा नगरपालिका ५ का २५ वर्षीय मनोज सदा ६ वर्षअघि वैदेशिक रोजगारीमा जाने तयारीमा थिए। नगरपालिकाकै सिंगियाहीमा बस्ने निरसु यादवको छोरा एजेन्ट सन्त यादवले १ लाख ५ हजारमा मनोजलाई साउदी अरब पठाउने भए। आर्थिक अवस्था कमजोर भएका मनोजले साहुमहाजनबाट जसोतसो चर्को ब्याजदरमा ऋण काढेर ७५ हजार रुपैयाँ मात्र एजेन्ट सन्तलाई दिन सके। ३० हजार रुपैयाँ पु¥याउन सकेनन्।

विदेश उड्नु ३ दिनअघि एजेन्ट सन्तले ५ चैत २०७१ को मितिमा ३० हजारको तीनगुणा बढी ९० हजारको कपाली तमसुक मनोजसँग काठमाडौमै गराए। एकवर्षभित्र सावाँब्याज फिर्ता गर्नुपर्ने भाखा उल्लेख गराए।

एकवर्षपछि चर्चित मिटरब्याजी अनुरुद्ध साह मनोजको घर पुगे। छोरोले विदेश उड्नुअघि बाँकी रहेको सन्त एजेन्टको ९० हजार रुपैयाँ तिर्न धम्की दिए, मनोजकी आमा तेतरीदेवी सदा ३० हजार रुपैयाँ तिर्न तयार भइन्। तर, अनुरुद्धले आफूले तमसुक किनेको देखाउँदै ९० हजार नै तिर्नुपर्ने बताए।

‘पटकपटक घरमा आएर मुद्दा हालेर भएको सम्पत्ति लिलाम गर्छु भनेर धम्क्यायो। हामीले नतिरेपछि उनले महोत्तरी जिल्ला अदालतमा मुद्दा दायर गरिदिए,’ तेतरीदेवी भन्छिन्।

अनुरुद्धले २०७२ मा महोत्तरी जिल्ला अदालतमा एजेन्ट सन्तबाट मुद्दा दर्ता गराए। आदालतले २० मंसिर २०७३ मा सावाँब्याजसहित मनोजको सम्पतिबाट असुल गर्न आदेश दियो। मनोज पुनः घर फर्केर अहिले वैदेशिक रोजागरीमा भारत गएका छन्।

‘वकिलले अहिले घर बस्न भनेको छ। तर हामीलाई चिन्ता छ घरघडेरी लिलामको,’ तेतरीदेवीले कागजात देखाउँदै भनिन्, ‘मिटरब्याजी अनुरुद्धले यस्तै कपाली तमसुक सस्तोमा किनेर, चर्को ऋण लगानी गरेर धेरैलाई उठिबास गरिदिएको छ। हामीलाई पनि त्यस्तै गर्न लाग्यो।’

ऋणी महिलाको यौनशोषणको प्रयास

यति मात्र होइन, मिटरब्याजी अनुरुद्धले ऋण लिएका महिलामाथि यौनशोषणका लागि दबाब दिने गरेको समेत खुलासा भएको छ।

श्रीमान्लाई चर्को ब्याजमा सावाँको २४ गुणा बढीको तमसुक बनाएर विदेश पठाउने र तिनका श्रीमतीलाई शारीरिक सम्बन्ध राख्न धम्की दिने गरेको पीडितहरुले बताएका छन्।

तीन वर्षअघि भंगहा नगरपालिका ५ सीतापुरकी ३५ वर्षीया सविरा खातुनले श्रीमान् अल्ला उदिन कवाडीलाई विदेश उडाउन साहु अनुरुद्धसंग मासिक सैकडा ३ रुपैयाँ अर्थात ३६ प्रतिशत ब्याजदरमा ५० हजार ऋण लिएकी थिइन्।

श्रीमान विदेश गएको केही दिनपछि सविरालाई अनुरुद्धले तमसुक बनाउन बोलाए। लेखनदासबाट मिटरब्याजी अनुरुद्धले ५० हजारको २४ गुणाबढी १२ लाखको तमसुक लेखाएर सविरासँग सहीछाप गराए। अनपढ सविराले के कतिको कागज लेखाए, चाल पाइनन्।

पति विदेश गएको ६ महिनामै उनले लिएको ऋणको सावाँब्याज तिरिन्। तर, अनुरुद्धले तमसुक फिर्ता दिएनन्।

उनले अरु धेरै पैसा बाँकी भन्दै सविरालाई पटकपटक यौनसम्बन्ध राख्न दबाब दिए। सबिराले अस्वीकार गरिन्। उनले यो कुरा विदेशमा रहेका पतिलाई पनि जानकारी दिइन्।

अनुरुद्धले आफैँ शारीरिक सम्बन नराखे अन्य महिला वा केटी मिलाइदिए ऋण माफ गरिदिने पटक पटक प्रस्ताव गरे। तर, सविराले अस्वीकार गरेपछि दुई वर्षअघि अनुरुद्धले उनीविरुद्ध मुद्दा दायर गरे।

सविरा २ वर्षदेखि तारेख धाउँदै छिन्। घर भएको १० धुर घडेरी बचाउन सविरा अन्य साहुमहाजनबाट १३ लाख रुपैयाँ लिएर अनुरुद्धलाई तिर्न तयार भइन्। तर, अब १८ लाख तिर्नुपर्ने, नत्र घडेरी लिने धम्की अनुरुद्धले दिइरहेका छन्।

‘म अनपढ मान्छे। मलाई के थाहा ५० हजारको १२ लाखको तमसुक बनाउँछ भनेर,’ सविरा भन्छिन्, ‘मैले दुईपटक गरी ५० हजारको साँवाब्याज तिरिसकेकी छु। मलाई शारीरिक सम्बन्ध राख्न पटक पटक दबाब दियो। अस्वीकार गरेपछि अन्य महिला वा केटी खोजदिन भन्यो। त्यो पनि नगर्ने भनेपछि मेरो घडेरी लिलाम गर्न लागेको छ।’

अनुरुद्धले अरु पनि सोझा महिलाहरुलाई नक्कली तमसुकको आडमा शारीरिक सम्बन्धका लागि दबाब दिने गरेको सविराले बताइन्। तर, इज्जतको कुरा भएकाले महिलाहरु बाहिर नबोल्ने गरेको उनको भनाइ छ।

शैलेन्द्र क्रान्ति

उहाँ टुडेपाटीका विशेष प्रतिनिधि हुनुहुन्छ । facebooktwitter भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *