मकैमा देखिन थाल्यो फौजी किराको प्रकोप, चिन्तामा प्रदेश २ का किसान
टुडेपाटी
सर्लाही, मंसिर २२ गते ।
हिउँदे मकैमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन्।
लालबन्दी, पत्थरकोट, कर्मैया, ढुंग्रेखोला, शंकरपुर, राजघाट, हजरिया, बरहथवा, मुर्तिया, जानकीनगरलगायत विभिन्न ठाउँमा व्यावसायिक रुपमा लगाइएको मकैबालीमा फौजी किरा देखिएको हो।
सयांै बिघा क्षेत्रफलमा लगाइएको मकैमा फौजी किराको प्रकोप देखिएको बागमती नगरपालिका–८ का वडाध्यक्ष मानबहादुर तामाङले बताए।
मकैमा फौजी किराको प्रकोप देखा परेपछि बिषादी छर्किँदा समेत नियन्त्रण नभएको लालबन्दी–१२ जियाजोरका किसान बालकिशोर थापाले बताए। ‘किरा मार्ने बिषादी दुईपटक लगाइसकेँ पनि किरा मर्दैन, झन् प्रकोप बढ्दै गएको छ,’ उनले भने, ‘अब त मकै होला भन्ने आसै मरिसक्यो।’
Sponsored
बागमती–८ का किसान बलबहादुर मोक्तानको पनि एक बिघामा लगाएको मकै किराले खाएर नष्ट पारेका बताए। बिषादी छरे पनि नियन्त्रण नभएको मोक्तानको भनाइ छ। किराले मकैको विरुवा खाएर सिध्याएपछि अर्कै वाली लगाउने तयारीमा छन् बरहगवा–२ हजरियाका किसान रामबाबु साह। उनले दुई बिघामा ४० हजार रुपैयाँ मकै लगाएका थिए।
मकै बाली फौजी किराले सखाप पारिसक्दा पनि सम्बन्धित निकाय भने बेखबर रहेको किसानको गुनासो छ।
कृषि ज्ञान केन्द्र सर्लाहीका निमित प्रमुख देवानन्द रायका अनुसार फौजी किराले शुरुमा मकैको नरम भाग गुवाबाट खान सुरु गरेर पुरै मकैको बोटनै ठुटो हुने गरी खाने बताए ।
बिस्तारै डाठको भित्री भागसम्म खाँदै जानाले बिरुवानै मर्ने गर्छन्। रातको समयमा किरा बढी सक्रिय हुने भएकोले साँझपख बिषादी छर्कन उनको सुझाव छ। सर्लाहीमा व्यावसायिक रुपमा १० हजार हेक्टर जमिनमा उन्नत जातका (हाइब्रिड)मकै खेती हुने गर्छन्।