TodayPati

तेजाब पीडित जनकपुरकी आरती : पहिले मट्टीतेल छर्के, करेन्ट लगाए र ससुराले जर्बजस्ती गर्ने प्रयास गरे

टुडेपाटी-

जनकपुरधाम, मंसिर १ गते ।

एसिड आक्रमणमा परी गम्भीर घाइते भएकी जनकपुरधाम उपमहानगरपालिका–७ की आरती साह यतिखेर जिन्दगीकालागि संघर्ष गरिरहेकी छिन् । उनी तीन वर्षीया छोरीसंगै कीर्तिपुर अस्पतालमा छटपटाइरहेकी छिन् । एसिड लागेर उनको शरीरको २५ प्रतिशत भाग जलेको छ । छोरी रियाको शरीरमा पनि एसिड परेको छ ।

Sponsored

आमा–छोरीलाई यो अवस्थामा पुर्‍याउने अरु कोही नभएर जीवनभरि साथ दिने कसम खाएका आरतीकै श्रीमान सञ्जीव साह हुन् ।

तर यो पीडा भने उनले पहिलो पटक भोगेकी होइनन् । करिब सात वर्षअघि जनकपुरधाम उपमहानगरपालिका– २० का संजिव साहसँग उनको विवाह भएको थियो । तर, वर्ष दिन नबित्दै उनीहरूबीच सम्बन्ध बिग्रिन थाल्यो ।

‘जहिल्यै रक्सी र गाँजा खाएर आउँथ्यो । मलाई कुट्थ्यो । महिनैपिच्छे काम छोड्थ्यो र मसँग पैसा माग्थ्योु, आरतीले भनिन्, ‘तैपनि मैले आमा बुवालाई दुई वर्षसम्म केही भनिनँ । मलाई के भन्लान्, लोग्नेको बेइज्जत हुन्छ भनेर चुप बसेँ । अन्तिममा सहन नसकेपछि मात्र आमालाई सबैकुरा बताएकी हुँ ।’

Sponsored

डाको छोडेर रुँदै आरती भन्छिन्, ‘मलाई यतिदिनसम्म गाईभैँसीजस्तै पिटे पनि म सहेरै बसेँ । डरले म उसले हिँडने बाटो नै हिँड्न छोडेकी थिएँ । मैले उसको के बिगारेकी थिएँ र ? उपचारमा संलग्न डाक्टरका अनुसार एसिड लागेर उनको शरीरको करिब २५ प्रतिशत भाग जलेको छ । छोरी रियाको शरीरमा पनि एसिड परेको छ ।

‘म प्लास्टिकको बट्टा सफा गर्दै थिएँ ।अचानक घरमा पस्यो । स्टिलको गिलासमा केही लिएर आएको थियो । छयाप्पै मुखमै फालेर भाग्यो । बछिटाले छोरीलाई पनि लाग्यो । म चिच्चाउन थालेँ । छोरी पनि चिच्याउन थालिन्’, उनले कहालीलाग्दो त्यो क्षण सम्झिइन् ।

उनलाई आफूभन्दा पनि आफ्नी छोरीको चिन्ता ज्यादा छ । भन्छिन्, मलाई थाहा छ, म अब धेरै बाच्दिनँ । तर, उसलाई त्यसै नछाड्नू । छोरीकै लागि म यतिका पीडा सहेर बाँचिरहेकी थिए । तर, उसले मेरी छोरीलाई पनि छोडेन ।’

शनिबार बिहान श्रीमान सञ्जीव साहले जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरस्थित माइत बस्दै आएकी आरतीलाई घरमै पसेर एसिड आक्रमण गरेका थिए । ‘जसरी पनि छोरीलाई राम्रोसँग हुर्काउने, पढाउने मेरो चाहना थियोु, उनी मन्द सुनिइन्, ुमेरो छोरीको विवाहपछि म खुसीखुसी मर्न तयार थिएँ । त्यसपछि त उसले मलाई मारदिँदा पनि हुन्थ्यो । धन्य, रियाको हातमा मात्र एसिड परेछ, नभए म उतिखेरै मरिहाल्थेँ ।’

विवाह भएको दुई वर्षपछि सञ्जीव विदेश गए । त्यसपछि ससुरा सहदेवले आफूमाथि गलत नजरले हेर्न थालेको उनी सुनाउँछिन् । ‘मेरो कोठामा काठको गेट थिएन । कपडाको पर्दाले ढाकिएको थियो । श्रीमानले गेट नबनाइदिएपछि ससुरालाई पटक(पटक भनेँ तर उनले पैसा छैन भनेर धेरै बहाना बनाए’, उनले थपिन्, ‘म सुतेको बेला उनी कोठामा पस्थे । जबर्जस्ती गर्ने प्रयास गर्थे । ससुराबाट बँच्न अन्तिममा म भागेर माइत पुगेँ ।’

विदेशबाट करिब दुई वर्षमै फर्किएका सञ्जीव र आरती ससुरालीनजिकै पेठिया बजारमा डेरा लिएर बस्न थाले । त्यहाँ पनि उनीहरूबीचको झगडा साम्य भएन । भनाभनकै क्रममा सञ्जीवले आरतीलाई मट्टीतेल छर्केर आगो लगाउने प्रयास गरेका थिए । जिउमा मट्टितेल छर्केपछि जसोतसो भागेर ज्यान जोगाएकी थिएँ, आज यसरी तड्पिन रहेछु, उनले भनिन् ।

त्यसअघि सञ्जीव महोत्तरीको राम गोपालपुरमा सुनचाँदी पसलमा काम गर्न पुग्दा आरती पनि उनीसँगै गएकी थिइन् । तर, त्यहाँ पसलबाट चोरी गरेर उनी फरार भए । घरबेटीको भाडा नतिरेर उनले आफ्नी श्रीमतीलाई बन्धकी राखे ।

‘घरबेटीको २० हजार रुपैँया घर भाडाको साटो मलाई उनले बन्धकी राखेर हिँडे । पछि मेरी आमाले घरबेटीको पैसा तिरेपछि म त्यहाँबाट फर्केँु, उनले भनिन्, ‘सधैँ झगडा र मारपीट गर्न थालेपछि म माइतमै बस्न थालेँ । तैपनि उसले दुःख दिन छोडेन ।’

छोरीलाई राम्ररी हुर्काएर पढाउने सपना पूरा गर्न आफूले दोस्रो बिहे नगरेको आरतीले बताइन् । ुफेरि त्यस्तै श्रीमान पाएँ भने सबैले सोच्लान् यो केटी नै खराब छे । त्यसैले मैले छोरीकै लागि जिउने अठोट गरेँु, आरतीले थपिन् ।

गएको फागुन महिनामा श्रीमानले कुटपिट गरेपछि उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएकी थिइन् । यस विषयमा प्रहरी कार्यालयमा दुवै पक्षबीच छलफलसमेत भएको थियो ।

‘मेरी छोरी उसँग बस्दिनँ भनेर क्लियरै भइसकेको हो । तर, उसले छोटपत्र गर्न मानेन । उल्टै मेरो मोबाइलमा फोन गरेर पटक(पटक गालीगलौज र धाकधम्की दिइरह्यो’, उनकी आमा सुनिताले सुनाइन् ।

करिब एक वर्षदेखि माइत बस्दै आएकी आरती आफ्ना बुवासँगै बजारमा तरकारी व्यापार गरेर गुजारा चलाउँदै आएकी थिइन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *