छोरी ! (कविता)
नौ महिना गर्भ बोकी दुख, पीडा, आट र साहसले जन्म दियौं मलाई
एउटा काखँमा भाई र अर्का काधँमा मलाई लिइँ रमायौ तिमी ।
छोरी घरको लक्ष्मी भनि ओठमा हाँसो लिई रमायौ तिमी,
तर बीस बर्ष पुगी अर्काको घरमा पठाउन तयार गर्यौं मलाई ।
धेरै नबोल, अर्काको घरको सम्पत्ति मुख हैन हात चलाउनु भनि सिकायौ मलाई
छोरी जात शान्त, सुशिल र संघर्षि हुनुपर्छ भने शिक्षा दियौ तिमी ।
घुंघटमा बसेर दुनियाका दृश्यबाट बञ्चित गरी बाँच्न सिकायौ तिमी
अर्काको हातमा अर्काको घरमा नचिनेको ठाउँमा पठायो मलाई ।
कहिले मोटरसाइकल, कहिले फ्रिज त कहिले पैसाको लागी ज्यान त्याग्न बाध्य बनायो मलाई
के जन्म दिएको गुरु दक्षिणा स्वरुप ज्यान नै हो मेरो ?
छोरी जात भएकै कारण हक, अधिकारबाट पन्छायौ मलाई,
साहस दिने शिक्षा दिने शक्तिशाली बनाउने समयमा मौन बनायौ मलाई ।
छोरीलाई विभेदिकरण गरी न हिम्मत दियौ न त केही गर्ने आटिलो विश्वास,
जसको फलस्वरुप शिकारीहरुको शिकार बन्दै छु आज ।
पुरुषार्थ भएको समाज र कानुनमा पनि महिलाको हकलाई सिमित बनायौं,
त्यसमा पनि असुरक्षित, अनियन्त्रित वातावरण दिइ लड्न मात्रै सिकायौं ।
जन्म देखि अंश, वंश र आफ्नो हक अधिकार पाउनको लागी लड्ने वातावरण मात्रै वनायौ
सरल, सहज र व्यवस्थित छोराको लागी बनायो तर छोरी बिदाईमा आशुको नदी छोरीको लागी किन ?
आखाँ अगाडी राख्ने छोराको लागि यति धेरै व्यवस्था र साहसिलो बनाउछौं,
तर घर, आखाँबाट टाढा पठाउने छोरीलाई डरलाग्दो वातावरण बनाई सधै सहने र लड्ने वातावरण किन ?
एकचोटी सामानता, साकारात्मक सोच र आत्माले स्वीकार मलाई,
को छोरा, को छोरी भनेर छुट्टयाउन गह्रो हुन्छ सायद ।
छोराले मरेपछि दागबत्ति गर्छ भनेर छोरीको स्वतन्त्रता र समानतालाई संकुच नगरी देउ,
छोरीलाई छोरा सरह कर्तव्य गरी हेर, त्यहाँ छोराछोरी हैन बरु सन्तानलाई पाउने अनुभुति हुन्छ होला ।
–गुन्जा कुमारी साह
कानुन अध्ययनरत विद्यार्थी
Sponsored