TodayPati

प्रदेश २ : वैदेशिक रोजगारबाट फर्केकाहरु पीडामा, दुई छाक टार्नै मुस्किल

रञ्जन भण्डारी

महोत्तरी, असोज २५ गते ।

लकडाउन अवधिमै वैदेशिक रोजगारीबाट फर्केका महोत्तरी गाउपालिका वडा नं. ६ मुसहर वस्तीका भोगेन्द्र सदा घरमै भेटिए । घरमै ओछ्यानमा पल्टेका भोगेन्द्र लकडाउन कै समयमा कतारबाट फिर्ता पठाइएका थिए । कतारमा उनी वस्दै आएका क्याम्पको छेउमा रहेको बजारमा तरकारी किन्न गएको वेला प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै उनलाई बजार क्षेत्रबाटै पक्राउ गरि क्याम्पमा समेत सामानको लागि जान नदिई थुनामा हाल्यो र लगतै घर फिर्ता पठायो ।

Sponsored

उनको वाकि वक्यौता रकम कतार सरकारले सरकारी खातामा पठाईदिएका छन जुन उनले जिल्ला प्रसासन कार्यालयबाट लिन उनी समय समयमा जिल्ला प्रसासन कार्यालय आउने गरेका छन । तर कोरोनाकालमा उनले सोहि पैसा पाउन सकेका थिएनन । लकडाउनकै कारण पछि जिल्ला प्रसासन कार्यालय पुग्न नसकेका भोगेन्द्र अव गएर आफ्नो पैसा लिने वताउछन ।

एकलाख २० हजार साहुसंग सयकडा तिन रुपया व्याज तिर्ने गरि लिएर उनी २ वर्ष १० महिना पहिले कतार गएका थिए । घर परिवारको लागि दुई जुन गाँसको व्यवस्था गर्न र घरपरिवारका दुःख पिडा मेटाउन उनी चर्को व्याजमा ऋण लिएर विदेशिएका थिए तर एकलाख २० हजारको १ लाख १५ हजार तिरी सकेका भोगेन्द्रले अझै साहुलाई १ लाख ४० हजार तिर्न वाकि छ ।

उनले कतारको वसाईमा कमाएको रकम मध्ये साहुलाई व्याज वापत र घर परिवार चलाउन सवै पैसा सकाए तर उनको ऋण भने घट्नुको साटो अझै वढेको छ । घर फिर्ता भएकै वेला देखि उनी परिवार चलाउन दैनिक ज्यालादारी गर्न काम खोज्दैछन । सातामा वा महिनामा एक दुई दिन मात्रै काम पाउने भोगेन्द्र कोरोना संक्रमणकालमा आफ्नै ठाउमा समेत काम नपाएको गुनासो गर्छन ।

Sponsored

हाल महोत्तरीमा निषेधाज्ञा र लकडाउन समाप्त भईसकेपनि उनले अझै काम पाउन सकेका छैनन । कोरोनाको डर कायमै रहेकोले धेरैले काम दिन नमानेको उनी वताउछन ।

सोहि वडाका राम दिनेश खत्वेको पिडा पनि कम छैन । भोगेन्द्र तरकारी किन्न गएकै कतारको सोहि तरकारी बजारमा उनी समेत गएका थिए । उनलाई समेत प्रहरीले समातेर नेपाल पठायो । उनको पनि कम्पनीले तिर्नु पर्ने पैसा जिल्ला प्रसासन कार्यालयमै छ । घर फिर्ता भएदेखि नै रामदिनेश समेत कामको खोजीमा छन तर काम भने पाएका छैनन ।

यि दुई प्रत्यक्ष भेटेर आफ्नो पिडा पोखेका व्यक्तिहरु हुन । अहिले महोत्तरीकै हजारौ युवा वैदेशिक रोजगारीमा रहेकोमा कोरोनाकै कारण महिनौ विदेशमै कोठामै वेतलवी वसेका छन । सो मध्ये केहि काममा विस्तारै फर्कन थालेपनि अझै धेरैको रोजगारीको हालसम्म ग्यारेन्टी हुन सकेको छैन । यता केहिको समय पुगेर उनीहरु स्वदेश फर्कन नपाएर समेत कतारमै आफ्नै खर्चमा विना काम र विना तलब समय काट्दै छन ।

पटक पटक वैदेशिक रोजगारीमा खटेर आएका उमेश सहनी समेत लकडाउन अगावै कतार जाने तयारीमा थिए । भिसा समेत आईसकेका उमेश जानै लाग्दा लकडाउन लाग्यो र उनी जान पाएनन । मटिहानी नगरपालिका वडा नं. ९ सिमरदहीका उमेश सहनी हाल माछा मारेर घर खर्च टार्दै छन । उनी समेत जलेश्वर नगरपालिका वडा नं. २ र ९ को विचमा खेतहरुमा जालीले माछा मार्दै भेटिएका थिए । कुनै दिन माछा परे सय देखि पाचसय वा सात सयसम्म वा कुनै दिन खाली हात नै घर फर्कने उमेश काम गरेर समेत दुई छाक खान सक्ने अवस्था कोरोनाको त्रासले नभएको वताउछन ।

कहिल्यै वैदेशिक रोजगारीको मुख समेत नहेरेका विनोद पासमान समेतले सानै उमेर देखि आफ्नै गाउठाउमा वसेर साना तिना काम गरि घरपरिवार चलाउदै आएपनि कोरोनाकालमा जस्तो अवस्था कहिल्यै नदेखेको वताउछन । जलेश्वर नगरपालिका वडा नं. २ का विनोद पासमान हाल रिक्सा चालक हुन । कोरोना संक्रमणकाल भन्दा पहिले सोहि रिक्सा चलाएर घरपरिवार चलाउदै आएका विनोद अहिले लकडाउन खुलेपनि पहिला जस्तो सवारी पाउन सकेका छैनन ।

यि उदाहरण जस्तै हजार भन्दा वढी मानिस लकडाउन र निषेधाज्ञा अवधिमा महोत्तरी फिर्ता आए । कतिपय अझै विदेशमै भएर समेत वेरोजगार भएरै स्वदेश आउन दिन काट्दै छन । केहि समय अवधी पुरा भएर समेत आउन सकेका छैनन । यता भारतबाट आएर फिर्ता जान नसकेकाहरु समेतको हालत यस्तै छ । कोरोनाको डरले धेरै युवा भारत समेत फिर्ता हुन पाएका छैनन । उता गएर पनि कोरोनाकै कारण पहिले जस्तो आम्दानी गर्न सक्ने अवस्था नहुदा धेरैको गाउ घर तिरै वसाई छ । केहि भने ज्यान नै जोखिममा राखेर भारततिर होमिएका छन । तर उता उनको रोजगारीको के हुने उनीहरु आफै अन्यौलमै भएपनि उता गएका छन ।

यस्तो छ तथ्यांक :

वैदेशिक रोजगारीबाट यस लकडाउन अवधिमा एक हजार ५८६ जना फिर्ता आएको जिल्ला प्रसासन कार्यालय महोत्तरीसंग तथ्यांक छ । त्यसमा मलेसियाबाट मात्रै सवैभन्दा वढी ४०८ जना आएका छन । त्यसतै कतारबाट २११,युएईबाट २४१,बांग्लादेशबाट १८,तुर्कीबाट १३,बहराईनबाट ८,ओमानबाट ८ र साउदीबाट ३२४ जना तथा अन्यबाट समेत आएका छन ।

पालिकामै आएकाहरुको विवरण हेर्दा औरही नगरपालिका २५६,बलवा नगरपालिका १२१,बर्दिवास नगरपालिका १११,भंगहा नगरपालिका ८१,एकडारा गाउपालिका ४६,गौशाला नगरपालिका ८१,जलेश्वर नगरपालिका १५७,लोहारपटटी नगरपालिका १०७,महोत्तरी गाउपालिका ८५,मनरा सिस्वा नगरपालिका ८२,मटिहानी नगरपालिका ६०,पिपरा गाउपालिका ८९,रामगोपालपुर नगरपालिका ६५,सम्सी गाउपालिका ६२ र सोन्मा गाउपालिका ५२ जना आएका हुन । यसमा ठाउ न खुलेका थप २९ जना र अन्यमा थप १०२ जना आएको तथ्यांक छ ।

वैदेशिक रोजगारीको आकर्षक गनतव्य मध्येको देशहरु मलेसिया,कतार,साउदी र दुवई लगायतका देशमा प्रदेश २ कै सवैभन्दा वढी श्रमिक गएका छन । लकडाउनकै अवधीमा विभिन्न सकसका साथ केहि फिर्ता समेत भए तर स्वदेशमै उनीहरु फिर्ता पछि यहा उनीहरुको लागि हुन सक्ने सम्भावित रोजगारीको अवसर प्रदान गर्न तिनै तहले ध्यान नदिदा त्यसताहरुको आफ्नै ठाउमा विजोग छ ।

स्थानिय,प्रदेश र संघिय सरकारबाट हालसम्म त्यसता वेरोजगार भई वसेकाहरुको लागि कुनै विशेष पहल नहुदा कोहि अपराध,कोहि तस्करी त कोही गलतबाटो मा जानबाट जोगिएपनि घरमै वसेर दिन काट्न वाध्य छन । लकडाउन खुलेपनि उनीहरुले काम पाउन नसक्दा अधिकांशको अवस्था दयनिय हुदै गएको छ । यता वैदेशिक रोजगारीबाट फिर्ता आएका केहि लागु औषधकै कार्यमा समेत लागेका छन । गतल काम तर्फ आकर्षित नभएकाहरु भने अझै समय परिवर्तन हुने र स्वदेशमै वा विदेशमै केहि काम पाउने आशमा घरमै वसेका छन ।

बर्दिवास नगरपालिकामै केहि मानिस वैदेशिक रोजगारीबाट लकडाउन अवधिमा फिर्ता आएको वर्दिवासका मेयर विदुर कार्की वताउछन । उनी वैदेशिक रोजगारीबाट आएर वेरोजगार वसेका तथा स्वदेशमै रहेर समेत काम नपाएकाहरुको लागि बर्दिवास नगरपालिकाले चाडै उनीहरुको लागि कार्यक्रम ल्याउन लागेको वताउछन । हाल प्लानिंग फेजमा रहेको उक्त कार्यक्रमले बर्दिवासका ६० जना वेरोजगार युवालाइ उद्यमी बनाउने सोचका साथ अगाडी वढेको छ । तर यो वाहेक तक्काल वैदेशिक रोजगारीबाट फर्केर वेरोजगार वसेकाहरुको लागि कुनै व्यवस्थापन नभएपनि हातमुख नै जोर्न समेत समस्या भए बर्दिवास नगरपालिकाले त्यसताहरुलाई हेर्ने मेयर कार्की बताउछन ।

यता अन्य अधिकांश पालिकाहरु समेतले तत्काल अधिकांश विकास निर्माण र क्षमता अभिवृद्धि तथा अन्य युवाहरुलाई रोजगारीको अवसर प्रदान गर्न सक्ने कार्यक्रमहरु कटौती गरि कोरोना रोकथाम र नियन्त्रणमै लगाएकोले हाल रकम अभाव रहेको र तत्कालै उनीहरुको लागि केहि गर्न सक्ने अवस्था नरहेको वताउछन । जलेश्वर नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामुराज कडरिया जलेश्वर नगरपालिकासंग हाल वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै समेत वेरोजगार रहेकाहरुको लागि कार्यक्रम नरहेको थप्छन । उनी संघिय सरकारबाट सुरु गरिउको प्रधानमन्त्री रोजगार योजनाको माध्यमबाट वर्षमा सय दिन काम दिने गरि रोजगारी दिन युवाहरुको फारम संकलन भैरहेको वताउछन ।

प्रदेश २ सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा कोरोनाले लकडाउन र निषेधाज्ञा लगायतको अवस्था आएकोले यस्तै समयमा वैदेशिक रोजगारीबाट फर्केकाहरु पुनः रोजगारीमा फर्कन नसकेको,जान चाहने युवा समेत जान नसकेको र अन्य वेरोजगारहरुका हकमा समेत उनीहरुले काम पाउन नसकेको अवस्था रहेको वताउछन ।

राज्यमन्त्री शर्माले प्रदेश सरकारले यसलाई गम्भिरताका साथ लिएको र युवाहरुलाई रोजगारको अवस्था सृजना गर्न निति निर्माण तथा अन्य तयारी गरिरहेको वताउछन । उनले प्रदेश २ को समृद्धिको तिन आधार सतम्भहरु कृषी,पर्यटन र उद्योग रहेकोमा हाल कोरोना संक्रमणकालमा पर्यटन र उद्योग धराशायी भएको अवस्था रहेकोमा कृषीमाथी नै मुख्य ध्यान दिने र यसमै युवाहरु समेतको सहभागिता गराउने वताउछन । उनी एकमात्र कृषी क्षेत्रमै केहि गर्न सकिने भएको र युवासंग समेत कृषी क्षेत्रमा क्रान्ति ल्याउन हातेमालो गर्न सकिने भएकोले प्रदेश सरकार आधुनिक र वैज्ञानिक कृषी तर्फ युवालाइ आकर्षण गराउन र यसै क्षेत्रमा रोजगारी सृजना गरि अन्नका साथै युवालाई समेत रोजगारी दिने मानसिकताका साथ निति निर्माण तथा अन्य विभिन्न कार्यहरु गरिरहेको थप्छन ।

कृषीका साथै अन्य सिप मुलक तालिमहरु समेत युवालाई प्रदान गरेर रोजगारीको अवस्था सृजना गर्न प्रदेश सरकारले प्रयास गरिरहेको भन्दै राज्यमन्त्री शर्माले गत वर्षमात्रै प्रदेशका ६ हजार युवालाई विभिन्न सिप मुलक तालिमहरु दिइएको बताउछन । यस आर्थिक वर्षमै सोहि परिमाणमा सिप मुलक तालिम दिने तयारी रहेकोमा तालिम पश्चात समेत सिकेको सिपलाई व्यवहारमा उतार्न र रोजगारीको लागि विउ पुंजी उपलब्ध गराउन प्रदेश सरकारको तर्फबाट पहल भैरहेको उनी बताउछन । विभिन्न वैंकहरुसंग सम्पर्क भैरहेको र वैंकहरुलाई विना धितो सिप सिकेका युवाहरुको व्यवसायमा लगानी गर्न शुन्य व्याजमा ऋण उपलब्ध गराउन समेत पहल भैरहेको राज्यमन्त्री शर्माको भनाई छ ।

प्रदेशका राज्यमन्त्रीले यस्ता वेरोजगार युवाहरुलाई कृषीमा समेत समावेश गराउने र कृषी क्रान्ति ल्याउने भन्दै गर्दा भुमि व्यवस्था,कृषी तथा सहकारी मन्त्रालयको यस आर्थिक वर्षको बजेटिंगमा यस्ता युवा लक्षित कार्यक्रमहरु खासै देखिएको छैन । किसानहरुको हकहितमै कैहि कार्यक्रम रहेपनि वैदेशिक रोजगारीबाट फर्केका वा स्वदेशमै वेरोजगार रहेका युवाहरुलाई कृषीमा समावेश गराउने कुनै कार्यक्रम राखिएको छैन । विज्ञहरु कृषीमै पहिले देखि निर्भर किसानहरुको साथै बजेटिंगमै अन्य पेशामा आवद्ध रहि हाल वेरोजगार रहेका युवाहरुलाई विभिन्न मार्गनिर्देशनात्मक अन्तरकृया कार्यक्रम गरि यस क्षेत्रमै मोटिभेट गरि कृषीमै उनीहरुलाई समावेश गराउन सक्ने योजना अभाव देखिएको वताउछन ।

प्रदेश सरकारकै मातहत रहेको घरेलु तथा साना उद्योगले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको लागि स्वदेशमै यस्ता सिप मुलक तालिम उपयोगी हुन सक्ने र यस्ले वेरोजगारीको केहि समस्या कम हुने वताउछ । कार्यालय प्रमुख कृष्ण कुमार मिश्र सभा र कार्यक्रम तथा भिड जम्मा हुन सक्ने गतिविधी लकडाउन अवधीमा गर्न नमिल्ने भएको तर हाल लकडाउन हटेपनि सभा समारोह गर्न मनाही रहेकोले हाल गर्न नमिल्ने भएकोले आफुहरु समेत चाहेर तत्काल केहि गर्न सक्ने अवस्था नरहेको वताउछन । उनी आफुहरुसंग भएको कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै काम नपाएका युवाहरु लक्षित नै कार्यक्रम संचालनको वातावरण हालसम्म नरहेको वताउछन ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *