वीरगन्जमा ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यवस्तु बरामद
टुडेपाटी-
वीरगन्ज, असोज २० गते ।
वीरगन्जमा ठूलो परिमाणमा म्याद गुज्रेको खाद्यवस्तु बरामद गरिएको छ । वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित एएसटी प्रालिको तीनवटा गोदाममा भण्डारण गरिएको समान म्याद गुज्रेको पाइएको हो ।
जिल्ला प्रसाशन कार्यालय पर्साको नेतृत्वमा गएको टोलीले आदर्शनगरमा एएसटी प्रालिको तीनवटा गोदाममा ठूलो परिमाणमा म्याद गुज्रेको सामग्री बरामद भएपछि सिल गरेको छ ।
वनस्पति घ्यू, नरिवलको धुलो, केक र बेकरी, विस्कुटमा प्रयोग हुने कच्चा पदार्थ, रंगलगायत सामग्री म्याद नाघेको पाइएको प्रशासनले जनाएको छ ।
उपभोक्ताको अधिकारसँग सम्बन्धित विषय भएकोले आवश्यक अनुसन्धान र कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयलाई जिम्मा लगाइएको प्रसाशनले जनाएको छ ।
Sponsored
गोदाममा ५ लाख ९६ हजार ६ सय ६० रुपैयाँको म्याद नाघेका सामाग्री भेटिएको उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ । गोदाममा लोटस ४९ कार्टुन, जिएसएम क्लासिक एक्स पी १६ कार्टुन, लिलि स्टार एक्सपी ४ कार्टुन, एसएम म्याजिक एक्सपी २३ कार्टुन, आल्मुनियम पेस्ट २८ ड्रम, क्याल्सियम प्रोपिनेट पाउडर (विस्कुट पाउरोटीमा प्रयोग गरिने) १७ बोरा फेला परेको प्रहरीले जनाएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षर कार्यालय, जिल्ला प्रसाशन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलिले अनुगमन गर्दा म्याद गुज्रेको खाद्यवस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले जानकारी दिए ।
कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि लामो समय लकडाउन र निषेधाज्ञाले गोदामको माल बिक्री नभएर म्याद सकिएको सञ्चालकले दावी गरेका छन् ।