महोत्तरीमा विद्यालयबाट सञ्चार सामाग्री चोरी गर्ने २ जना पक्राउ
टुडेपाटी-
जनकपुरधाम, भदौ १० गते ।
महोत्तरीमा विद्यालय परिसरबाट ल्यापटप, मोवाईल, बैंकको एटिम कार्ड, केही नगद लगायतको सरसमान चोरी गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति पौने २ बजेको समयमा सामान चोरी गरेर फरार भएका उनीहरुलाई बर्दिवास नगरपालिका ७ कृषि बजार क्षेत्रबाट बुधबार दिउँसो पक्राउ गरिएको हो ।
जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले निर्माण गरिरहेको महोत्तरीको बर्दिवास नगरपालिका पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय परिसरबाट सामान चोरी भएको थियो । विद्यालयमा बालउद्यान निर्माणमा खटिँदै आएका स्थानीय पत्रकार अमृत कुमार महतो तथा हाँस्यकलाकार कृष्णा कुमार महतो लगायतका व्यक्तिहरुको सामान चोरी गरी फरार भएका उनिहरुलाई सिसिटीभी फुटेजको आधारमा संजाल सम्बद्ध युवाहरुले खोजी गर्ने क्रममा पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
बर्दिवास–७ स्थित कृषि बजार क्षेत्रमा रहेको आँपको बगैँचा भित्र सुतिहरेको अवस्थामा फेला पारी सोधपुछ गर्ने क्रममा भाग्न खोजेपछि दुबैजनालाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको स्थानीय पत्रकार अमृतकुमार महतोले बताए ।
चोरी गरिएको सामान आँपको बगैँचा भित्र थुपारेर धानको भुसा भित्र लुकाएर राखिएको अवस्थामा बरामद गरिएको पत्रकार महतोको भनाइ छ । त्यस्तै ईलाका प्रहरी कार्यालय बर्दिवासले घटनाको विषयमा थप अनुसन्धान गरिरेकोले पक्राउ परेका दुवैजनाको विवरण अहिले खुलाउन नसकेको बताए ।
Sponsored