कोरोना संक्रमणबाट थप दुइ जनाको मृत्यु, धनुषाका २ सहित ४० जना संक्रमित थपिए
टुडेपाटी
काठमाडौँ, भदौ १० गते ।
ललितपुरको पाटन र बाँकेमा अस्पतालमा उपचाररत दुइजना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरमा काठमाडौंका ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
यस्तै बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मृत्यु भएको छ ।
दुवै फोक्सोमा निमोनियाको समस्या भएका उनलाई भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएकोमा अर्को दिन कोरोना पोजिटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
नेपालगन्ज मेडिकल कलेजमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल बनेपछि कोहलपुर मेडिकल कलेजमा सारेर भेन्टिलेटरको सहायतामा उपचार भइरहेके अवस्थामा मंगलबार राति साढे एक बजे मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ भने प्रदेश ५ मा २४ पुगेको छ ।
Sponsored
चितवनमा थप ४० जनामा संक्रमण पुष्टि
चितवनमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३६ जना संक्रमित भरतपुर महानगरपालिकाका छन् ।
भरतपुर अस्पताल कोभिड ल्याबमा गएराति गरिएको परीक्षणअनुसार भरतपुर महानगरपालिकामा २० महिला र १६ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु ५ देखि ५४ वर्ष उमेर समूहका छन् । भरतपुर महानगरपालिका २, ४, ५, ७, ९, १०, ११, १२, १४, १५ र १६ नम्बर वडामा संक्रमितहरु फेला परेका छन् ।
यसैगरी रत्ननगर नगरपालिकामा ३ जना र खैरेनी नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ । रत्ननगर नगरपालिकाको वडा नं। १, ६ र १३ मा २ महिला तथा १ पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु २४ वर्षदेखि ७१ वर्ष उमेर समूहका छन् ।
यसैगरी खैरेनी नगरपालिका–१ मा २६ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । भरतपुर अस्पतालको कोभिड ल्याबमा गएराति नै गरिएको परीक्षणमा नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका १–१ जनामा कोरोना पुष्टि भएको ल्याब प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् ।