लक्षण नभएका कोरोना संक्रमितलाई अब अस्पताल भर्ना नगरिने
टुडेपाटी
काठमाडौँ, भदौ १० गते ।
स्वास्थ्य मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमित अब अस्पताल भर्ना नगर्न देशभरीका अस्पताललाई निर्देशन दिएको छ ।
लक्षण नभएका संक्रमितले अस्पतालका शय्या भरिन थालेपछि मन्त्रालयले प्रक्रिया परिवर्तन गर्दै यस्तो निर्देशन दिएको हो ।
लक्षण नभएका अस्पतालमा र लक्षण भएका संक्रमित घरमा बस्नुपरेपछि अस्पताल भर्ना प्रक्रियामा परिवर्तन गर्नुपरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । अब सामान्य अवस्थाका संक्रमितलाई भर्ना नलिन चिकित्सक तथा अस्पताल प्रमुखलाई निर्देशन दिइएको उनले बताए ।
काठमाडौंलगायत तराईका जिल्लामा संक्रमित बढ्दै जाँदा अस्पताल शय्या अभाव हुन थालेको छ । यो समस्याको समाधान गर्न मन्त्रालयले लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने भएको हो ।
Sponsored
पछिल्लो समय लक्षणसहितका संक्रमित बढ्न थालेका छन् । कुल संक्रमितमध्ये ६ प्रतिशतमा लक्षण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । तर, उपत्यकामा भने २० प्रतिशत संक्रमितमा लक्षण देखिएको छ ।
सोमबार काठमाडौंमा एक सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा दुई सय २४ नयाँ संक्रमित थपिएका छन् ।
योसँगै उपत्यकामा संक्रमितको संख्या तीन हजार चार सय ८६ पुगेको छ । काठमाडौंमा दुई हजार सात सय ५६, भक्तपुरमा दुई सय ८६ र ललितपुरमा चार सय ४४ संक्रमित पुगेका छन् । उपत्यकामा पुष्टि भएका संक्रमितमध्ये ६ सय ९७ जनामा लक्षण देखिएको छ ।