बारामा जुवाखालबाट तीन लाख रुपैयाँसहित ७ जुवाडे पक्राउ
टुडेपाटी-
बारा, साउन ३२ गते ।
बारामा जुवाखालबाट झण्डै तीन लाख रुपैयाँसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको जितपुर सिमरा–२ स्थित होटल सगुनमा जुवाखालबाटै इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले होटलको तेस्रो तलामा कोठा नम्बर २०५ मा जुवा खेलिरहेको अवस्थामा २ लाख ९१ हजार ५०० रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जुवा खालवाट जितपुर सिमरा १५ का मानबहादुर लोप्चन, सोही वडाका मानबहादुर गुरुङ्ग, सर्लाहीको बागमती नगरपालिका १ का ताराकुमार श्रेष्ठ, बारा पर्वानीपुर गाउँपालिका ८ का जयराम दास, कलैया वडा नं २ का बिनोद प्रसाद यादव, सल्यान बडिमालिका नगरपालिका ८ का भुवन चन्द र सिन्धुपाल्चोक बाह्रबिसेकाका पदम नेवार छन् । पक्राउ परेका ७ जनामध्ये पदम नेवार होटलका कर्मचारी रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
डिएसपी श्रेष्ठका अनुसार जुवा खालबाट १६ थान कौडा समेत बरामद गरिएको छ । घरधनी मोहन शर्मा भएपनि कुमार श्रेष्ठ र प्रद्युम्न वैद्यले भाडामा सञ्चालन गर्दै आएको सो होटलमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा शनिबार साँझ प्रहरीले छापा मारेको श्रेष्ठले बताए ।
पक्राउ परेका सबैलाई आइतबार म्याद थप गरी फौजदारी संहिता ऐन, २०७४ को दफा १२५ अनुसार कारवाही हुने श्रेष्ठको भनाइ छ । कानुनमा ३ महिना कैद वा ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था उल्लेख छ, डिएसपी श्रेष्ठले टुडेपाटीलाई भने, ‘सोही बमोजिम हामीले म्याद थप गरी कारवाही अगाडि बढाउछौं ।’
Sponsored