मिथिला नगरपालिकामा संकटमा परेका ६० विपन्न परिवारलाई बौद्ध गुम्वाको पहलमा खाद्यन्न वितरण
टुडेपाटी-
जनकपुरधाम, साउन ३० गते ।
कोरोना महामारीका कारण काम गर्न नपाउँदा संकटमा परेका धनुषाको मिथिला नगरपालिकाका विपन्न परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको छ ।
साङङाग छोइलीङ बौद्ध गुम्वाको पहलमा ६० जना विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।
हङकङ निवासी विक्किको आर्थिक सहयोगमा साङङाग छोइलीङ बौद्ध गुम्वा लालगढका अध्यक्ष तिलक लामा र गुम्वाका प्रमुख संजय लामाले पहल गरेर मिथिला नगरपालिका–१० का ६० विपन्न घरपरिवारलाई राहत वितरण गरेका हुन् ।
प्रतिपरिवार चामल एक बोरा, नुन, तेल, मास्क, स्यानिटाइजर, साबुन लगायतका सामान वितरण गरिएको हो ।
राहत वितरणमा बोल्दै गुम्वाका अध्यक्ष तिलक लामाले भने, ‘हामीले गरीब, अति विपन्न र दैनिक मजदूरी गरि जीवनयापन गर्दै आइरहेका व्यक्तिहरुलाई संकटको घडिमा सहयोग गर्ने क्रम जारी राखेका छौं ।’
Sponsored
दैनिक ज्यालादारी गरेर छाक टार्ने आफ्नो वडाका ६० घरपरिवारलाई यस महामारीका कारण उत्पन्न संकटपूर्ण समयमा राहत बाँड्ने योजना अनुरुप आज यी सामग्रीहरु बाँडिएको उनले बताए ।
कोरोना भाइरसले निम्त्याएको यस विपतपूर्ण समयमा गरीब, अति विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने परिवारहरु बढि मार्कामा परेपनि स्थानीय र प्रदेश सरकारले उनीहरुमाथि कुनै ध्यान नदिएपछि आफुहरुको पहलमा राहत बाँडिएको गुम्वाका प्रमुख संजय लामाले बताए ।
कोरोनाको असर मजदूरहरुमाथि बढि परेकोले उनीहरुलाई खाद्यान्नको अभाव भईरहेका बेला आफूहरुले सानो प्रयास स्वरुप उनीहरुलाई खाद्यान्न सामग्री वितरण गरेको उनले बताए । उनले भने,‘आफुहरुले आज राहत बाँडे पनि आवश्यकता भए अन्य वडासँग पनि समन्वय गरेर राहत वितरण गर्न तयार छौं ।’
उनीहरुले सामाजिक दुरीको ख्याल गर्दै व्यवस्थित तरिकाले राहत बाँडेका छन् । लामो समयको अन्तराल पछि राहतका सामान पाएपछि त्यस वडाका ति विपन्न परिवारहरुले खुशी व्यक्त गरेका छन् ।