प्रदेश २ : वडाध्यक्षमा कोरोना संक्रमण, श्रीमतीको मलामी पुगेका अन्य सयभन्दा बढीको खोजी हुँदै
टुडेपाटी-
जनकपुरधाम, साउन ११ गते ।
प्रदेश २ को रौतहट जिल्लामा एकजना वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँ जान पिसिआर परिक्षण गराउँदा राजदेवी नगरपालिकाका एकजना वडाध्यक्षमा संक्रमण भेटिएको हो ।
उनी करेन्ट लागेपछि श्रीमतीलाई लिएर जिल्ला अस्पताल गौर पुगेर फर्केको बताइएको छ ।
अस्पतालमा उनीसँगै आएका तथा सम्पर्कमा पुगेका व्यक्तिरुको पहिचान गर्न थालिएको छ । गएको शनिबार करेन्ट लागेर वडाअध्यक्षकी श्रीमतीको मृत्यु भएको थियो ।
Sponsored
उनको अन्तिम संस्कारमा सहभागी भएका एक सयभन्दा बढी व्यक्तिहरु सहभागी भएका थिए । उनीहरुलाई समेत तत्काल कोरोना परीक्षण गर्नुपर्ने भएको छ ।
‘वडाअध्यक्षको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्वारेन्टिनमा बस्न भनेका छौं,’ राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंहले भने, ‘अस्पतालदेखि दाहसंस्कारसम्म वडाध्यक्ष नजिक भएका व्यक्तिहरुको परीक्षणको काम सुरु गराउँदैछौं ।’
संक्रमित वडाध्यक्ष मुटु र मधुमेहको रोगीसमेत भएकाले थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको मेयर सिंहले बताए । नगरपालिकाकै केही व्यक्तिहरु आजैबाट घरमै क्वारेन्टिनमा बसेको उनले बताए ।
संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको पहिचानको र स्वाब संकलनको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।
अन्य रोगको कारण पनि उनको स्वास्थ्यमा समस्या रहेकाले काठमाडौं पठाउने तयारी भैरहेको उनको भनाइ छ ।