रौतहबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ, दुईजना फरार
टुडेपाटी-
जनकपुरधाम, माघ ७ गते ।
सशस्त्र प्रहरीको गस्ती टोलीले गएराति रौतहटमा पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भारत बिहारको पूर्वी चम्पारण मोतिहारी वसन्तपुर ग्राम पञ्चायत ९ का २६ वर्षीय धनञ्जय कुमार झा भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले जानकारी दिएका छन्।
धनञ्जयको साथबाट १ थान सेमी अटोमेटिक पेस्तोल, सोको म्यागेजिन १ वटा, र ७.६५ एमएमका ४ राउन्ड गोली बरामद गरिएको छ। साथै, उनले प्रयोग गरेको बीआर ०५ बीडी १२२४ नम्बरको अपाचे मोटरसाइकल र सामसङ कम्पनीको ए ३५ मोबाइल पनि नियन्त्रणमा लिइएको छ।
बरामद सामाग्री र आरोपीलाई थप अनुसन्धान र कारबाहीका लागि आइतबार राति नै जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको एसपी हुमागाईँले बताएका छन्।
भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका–४, लतमरी नाका क्षेत्रमा सशस्त्र प्रहरी बलको मठिया पोस्टबाट खटिएको टोलीले शङ्कास्पद गतिविधि देखेपछि सुनिल होटलमा खाजा खाइरहेका तीन व्यक्तिलाई चेकजाँच गरेको थियो। त्यस क्रममा दुई जना फरार भए पनि पेस्तोल बोकेका धनञ्जय पक्राउ परेको सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा रौतहटद्वारा जारी सूचनामा उल्लेख छ।
Sponsored