मधेशका स्वास्थ्यमन्त्रीको गाडीमा अर्को सरकारी गाडीले दियो ठक्कर, मन्त्रीसहित तीन घाइते
टुडेपाटी-
जनकपुरधाम, माघ ७ गते ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवार गाडी सोमबार बेलुकी दुर्घटनामा परेको छ ।
दुर्घटना जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह चढेको मधेश प्रदेश ०२–००१ झ ०१६५ नम्बरको गाडीलाई खानेपानी डिभिजन कार्यालय पर्साको मधेश प्रदेश ०३–००१ झ ००९६ नम्बरको गाडीले ठक्कर दिएको हो ।
दुर्घटनामा मन्त्रीसिंहसहित तीनजना घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए।
पिरारी चोकबाट रामानन्द चोकस्थित निवासतर्फ जाँदै गरेको मन्त्रीको गाडीलाई सोही दिशामा गइरहेको खानेपानी कार्यालयको गाडीले ठक्कर दिएको हो ।
मन्त्रीसहित घाइते हुनेमा दुवै गाडीका चालक समेत छन् । उनीहरुको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Sponsored