TodayPati

जग्गा किर्ते प्रकरणमा पर्सा मालपोतका लेखनदास पक्राउ

टुडेपाटी-

वीरगन्ज, साउन ८ गते ।

मालपोत कार्यालय पर्साका लेखनदास जग्गा किर्ते प्रकरणमा पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका-५ मेनरोडमा स्व. कमला राजभण्डारीको नामको जग्गा किर्ते कागज तयार गरी नक्कली छोरा बनाएर नामसारी गरेको कसुरमा पक्राउ परेपछि अनुसन्धान सुरु भएको छ । 

Sponsored

मालपोत कार्यालय पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा जग्गा किर्तेबारे सोमबार लिखित जानकारी गराएपछि प्रशासनले किर्ते मुद्दामा छानबिन गर्ने जिम्मेवारी प्रहरीलाई सुम्पेको थियो । 

पर्सा प्रहरीले मालपोत कार्यालय पर्साका लेखनदास अमर साह कानु गुप्तालाई पक्राउ गरेको हो । 

बुधबार बिहान मालपोत कार्यालय नजिक रहेको कानुको च्याम्बरबाट सादा पोसाकमा खटिएका प्रहरीले उनलाई पक्राउ गरेको हो । 

Sponsored

सोही घटनाको साक्षी बसेका अर्का लेखनदास प्रमेश साह कानु फरार छन् । अमर पक्राउ परेपछि प्रमेश फरार भएको बुझिएको छ । 

स्वर्गीय कमला राजभण्डारीको नक्कली छोरा बनेर मुकेश राजभण्डारीले करोडौं मूल्यको मेनरोडको करिब साढे पाँच कठ्ठा जग्गा आफ्नो नाममा नामसारी गराएका थिए । 

अमरलाई पक्राउ गरेपछि उनी पनि फरार भएका छन् । स्व कमला राजभण्डारीको नक्कली छोरा बनेर मुकेश राजभण्डारीले फागुन १२ गते वीरगन्ज महानगरपालिका-५ कित्ता नम्बर ७१ को ३२५ वर्गमिटर, कित्ता नम्बर ३ को १२७३.८ वर्गमिटर, कित्ता नम्बर १८६ को १०३.४ वर्गमिटर र कित्ता नम्बर १४३ को ८६.१० वर्गमिटर जग्गा मालपोत कार्यालय पर्साबाट नामसारी गराएका थिए । 

फागुन १८ गतेको यो घटना अहिले असार २४ मा मुकेशलाई ५० लाख बैना दिएको तमसुक बनाएका वीरगन्जका गिरधारीलाल अग्रवाल (वंशल) ले मालपोतमा जग्गा रोक्का गराएपछि चर्चामा आएको हो । 

यसबारेमा प्रमुख मालपोत अधिकृत सुमन झासँग बुझ्दा उनले यो  घटना छानबिन गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा पत्राचार गरिएको र प्रशासनले किर्ते जालसाजीको मुद्दा प्रहरीबाट अनुसन्धान हुने भन्दै जिम्मा लगाएको बताए । 

मालपोत अधिकृत झाले आयोमेलसँग कुरा गर्दै भने, ‘घटना सम्बन्धमा असार २७ गते स्व. कमला राजभण्डारीको तीन आफन्त प्रतिनिधि बनेर आएको र जग्गाधनीको प्रतिनिधि भएर काठमाडौंबाट आएकाले उनीहरूले यो जग्गा रोक्का गर्नुपर्छ भने ।’

अधिकृत झाले रजिस्ट्रेशन पास गर्ने बेलाको मन्जुरीनामा, मृत्युदर्ता, तीन दाजुभाइको नागरिकता, ललितपुर महानगरपालिका–३ ले दिएको सिफारिस पत्र, नाता प्रमाणितको कागज, अस्ट्रेलियास्थित नेपाली दूतावासले लेखेको पत्र तथा काठमाडौंबाट प्रतिनिधि बनेर आएकाहरूको कागज फरक-फरक पाइएको बताए । 

रजिस्ट्रेशन पास भएको बेला पेस गरेको ललितपुर महानगरपालिका-३ को सिफारिस पत्रबारे वडाध्यक्षसँग बुझ्दा उक्त पत्र वडामा दर्ता नभएको प्रतिक्रिया दिएका थिए । 

एउटा जग्गाको दुईथरि कागजात फेला परेपछि किर्ते गरिएको घटना बाहिर आएको हो। अहिले सबै जग्गा रोक्का राखिएको झाले बताए । 
मालपोत कार्यालयसमेतले अनुसन्धान गर्दा वडा कार्यालयको सिफारिसदेखि नाता प्रमाणित, नागरिकता, दूतावासमा भएको मन्जुरीनामालगायत सम्पूर्ण कागजपत्र नक्कली भएको पुष्टि भएको छ । 

सबै प्रकरणको रचयिता गिरधारीलाल अग्रवाल भएकाले उनी पनि अनुसन्धानको घेरामा रहेको मालपोत स्रोतले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *