अपहरित १५ वर्षीय बालकको सर्लाहीबाट उद्धार, तीन अपहरणकारी पक्राउ
टुडेपाटी–
जनकपुरधाम, पुस २९ गते ।
सर्लाही प्रहरीले अपहरणमा परेका १५ वर्षीय भारतीय बालकलाई सुरक्षित रूपमा उद्धार गरेको छ। बालकलाई सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साहको घरबाट सकुशल मुक्त गरिएको हो।
अपहरणमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ६८ वर्षीय रामजी साह, स्थानीय १९ वर्षीय विक्रम पासवान, र बिहारको सितामढी जिल्लाको मुसहर्निया टोलका २७ वर्षीय प्रवचन साह रहेका छन्।
सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार पक्राउ परेकाहरूसँग कटुवा पेस्तोल, दुई राउन्ड गोली, मोबाइल, धारिलो चक्कु, हथौडा, र बीआर ०६बीटी २८५० नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ।
प्रहरीले बालकलाई उद्धार गरी सुरक्षित रूपमा परिवारको जिम्मा लगाएको छ। पक्राउ परेकाहरूमाथि अपहरण, शारीरिक बन्धक, र हातहतियार खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
जिल्ला अदालत मलंगवाबाट सात दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
Sponsored