जनकपुरका युवाहरुले फोहोरको डंगुर जउनपा कार्यालयको मूलगेटमा थुपारे
टुडेपाटी-
जनकपुरधाम, साउन ६ गते ।
समयमा फोहोर नउठाएको भन्दै युवाहरुले नगरको फोहोर उठाएर जनकपुरधाम उपमहानगरपालिका कार्यालयको गेटमा थुपारेर विरोध जनाएका छन् ।
विगत एक महिनादेखि फोहोर नउठेका कारण नगर नै दुर्गन्धित हुन थालेपछि युवाहरुले नगर भित्रको फोहोरको डंगुरहरु उठाएर उपमहानगरको मूल ढोकामा थुपारेका हुन् । युवाहरुले जनकपुरधामको रामानन्द चोक, जानकी चोक, जानकी मन्दिर, राजदेवी मन्दिर लगायतको स्थानबाट फोहोर जम्मा गरी ट्रैक्टरमा राखेर उपमहानगरको मूल ढोकामा थुपारेका थिए ।
फोहोर जम्मा गरेर उपमहानगरको मूल ढोकामा थुपार्न पुगेका युवाहरुले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख उपप्रमुख मुर्दावाद, भ्रष्ट मेयर मुर्दावाद, उपप्रमुख गैर जिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता ले लगायतका नारा समेत लगाएका थिए । केही दिन अगाडी मात्रै जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता मिश्रले एक टेलिभिजनमा जनकपुरधामकै स्थानीय फोहोर फाल्न नदिएको र केही व्यक्ति नगरपालिकालाई असफल बनाउने प्रयास गरिरहेको अभिव्यक्ति दिएकी थिइन् ।
फोहोरको डंगुर सहित पुगेका युवा अभियन्ता सरोज मिश्रले उपमहानगरले फोहोर व्यवस्थापनको नाउँमा प्रत्येक वर्ष करोडौँको रकम खर्चने गरेको छ तर नगर अहिले पनि सफा हुन नसक्नु दुःखद रहेको छ ।
उनले फोहोर सफा गर्ने नाउँमा खर्च गरिएको बजेट कहाँ जान्छ प्रश्न गरे । उनले भने ‘ नगरको जनप्रतिनिधिहरु नेतृत्वमा पुगेको ४ वर्ष पुगी सकेको छ तर अहिलेसम्म लैण्ड फिल्ड साइटको निक्र्यौल लगाउन नसक्नु उपमहानगरको असक्षमता देखाई रहेको छ ।’
Sponsored
उपमहानगरलाई घचघचाउनकै लागि आफूहरु फोहोरको डंगुर उपमहानगरको मूल ढोकामा थुपार्न बाध्य भएको मिश्रले बताए ।
अर्का अभियन्ता सुशिल कर्णले आफै फोहोर सफाईमा ध्यान नदिन सक्ने उपप्रमुखले जनकपुरधामको स्थानीयलाई बदनाम बनाउने प्रकारको अभिव्यक्ति दिनु निन्दनीय रहेको बताए ।