बटेश्वर गापा : सार्वजनिक रुख बेचेको ४ लाख रुपैयाँमा वडाध्यक्षको रजाइँ, किसान अक्रोशित
टुडेपाटी-
जनकपुरधाम, साउन ५ गते ।
धनुषाको बटेश्वर गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष शैलेन्द्र महतो सडकबाटोको सार्वजनिक रुख बेचेर चार लाख रुपैयाँ खल्तिमा राखेका छन् । झण्डै डेढवर्ष अघि बाटो बनाउने नाउमाँ वडा नं. १ र २ को धुमासन टोलदेखि कार्तिककुमार बजारसम्मको दुवै तर्फको सिमल बेचेर चार लाख रुपैयाँमा बेचेका थिए ।
किसानको खेत अगाडीको बेचेको उक्त सिमलको चार लाख रुपैयाँले केहि महिना भित्रै इनार खनाइदिने वडाध्यक्ष महतोले आश्वासन दिएका थिए । रुख बेचेको उक्त चार लाख रुपैयाँ आफै राखेका छन् । तर रुख बेचेको एकवर्षमा पनि वडाध्यक्ष महतोले कुनै चाँसो नराखेपछि स्थानीयहरु उनलाई भेटेर गुनासो गरेका थिए ।
त्यसपछि उनले किसानको सिँचाइको लागि उक्त चारलाख रकमबाट दुईवटा इनार खनाइदिने प्रतिवद्धता गरेका थिए । उनकै पहलमा रुख बेचेकै क्षेत्रमा वडा नं. १ को सडक छेउमा दुईवटा इनारको शिलान्यास गरिएको थियो । सोही स्थानको तेस्रो ठाउँमा गाउँपालिका अध्यक्ष डम्बर बुहादुर राउत र वडा नं. २ का अध्यक्ष गंगाराम कुमरले पनि शिलान्यास गरेका थिए । तर शिलान्यस गरेको दुई महिना बित्न लाग्दा समेत एउटा समेत इनार खन्ने कुनै चालचुल छैन ।
इनार नखनेपछि स्थानीय किसानहरु वडाध्यक्ष महतोप्रति आक्रोशित भएका छन् ।
‘रुख बेचेकै बेला केहि महिना भित्रै दुईवटा इनार खनाइदिने भनेका थिए । पैसा खल्तीमा राखे । एकवर्षसम्म केहि गरेनन् । हामीले पैसाको सोधखोज गर्दा दुईवटा इनारको शिलान्यस गरे । तर अहिलेसम्म इनार खनाइदिएनन् ।’ स्थानीय श्रीनारायण यादवले वडाध्यक्ष महतोप्रति आक्रोश पोख्दै भने ‘वडाध्यक्ष बहानाबाजी गरे डेढवर्षदेखि एकलौटी सार्वजनिक पैसाले निजी काम गरिरहेका छन् । सिंइचाइ हाम्रो भइरहेको छैन । उनलाई इनारदेखि के मतलब छ ।’
Sponsored
वडाध्यक्ष महतो विभिन्न बहानाबाजी गर्दै रुख बेचेको रकम बेइमानी गर्न खोजेको स्थानीय रामनाथ महतोको आरोप छ । ‘विवाद भएपछि वडाध्यक्षले एकपटक पनि समाजलाई बसाएर छलफल गर्न चाहेनन् । त्यिहि पैसा ब्याजमा लगाएको भए डेढवर्षमा तीनवटा इनारको पैसा पुग्थ्यो’, उनले भने ‘अब एकवर्षसम्म इनारै खन्ने सिजन होइन । एकवर्ष अझै पैसा चलाउन पाउँछन् । उनलाई त फाइदै फाइदा छ । घाटा यहाँका समाजलाई छ । यतिदिनसम्मको ब्याज कसले दिन्छ ? ’
यता वडाध्यक्ष महतोले आफुले दुईवटा इनार खनाउन चाहेको तर गाउँपालिका अध्यक्ष र वडा न. २ का अध्यक्षले अर्को तेस्रो इनारको त्यहि पैसाले खनाउन शिलान्यास गरेपछि केहि गर्न नसकेको प्रतिक्रिया दिए ।
‘मसंग रुख बेचेर राखेको चारलाख रुपैयाँ मात्र छ । त्यसले दुईवटा इनार मात्र हुन्छ । किसानसंग छलफल गरेर दुईवटाको शिलान्यास पनि गरियो’, वडाध्यक्ष महतोले भने ‘तर गाउँपालिका अध्यक्ष र वडा नंं २ का अध्यक्षले तेश्रो इनारको पनि त्यहि दिन शिलान्या गरेपछि पैसा नपुग्ने भएकाले कुनै इनार खन्न सकिएन ।’
वडाध्यक्ष महतोले आफुले गाउँपालिका अध्यक्ष र वडा नंं २ का वडाध्यक्षलाई विवाद समाधान गरि इनार खन्ने काम सुरु गर्न पटक पटक आग्रह गर्दा कुनै मतलब नगरेको आरोप लगाए ।
यता गाउँपालिका उपाध्यक्ष उर्मिलादेवीले आफुले उक्त रुख बेचेको पैसाको विषयमा पटक पटक कार्यपालिका बैठकमा अवाज उठाएको बताइन् । अब बस्ने कार्यपालिका बैठकमा पुनः यस विषयमा छलफल गरिने उनको भनाइ छ ।