बटेश्वरका असिना पीडित दुई महिनामा पनि पाएन छानो, वर्षामा भिजेरै बस्न बाध्य
टुडेपाटी-
जनकपुरधाम, असार ११ गते ।
गएको वैशाख १२ गते हावाहुरीसंगै आएको असिनापानीले धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ र ३ मा संयौ घरको छानो फुट्यो । असिना पानी भएको क्षतिको अवलोकन गर्न गाउँमा नेता, मन्त्री, सांसद, गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिघिको गाडी लस्कर लागेको थियो ।
पुर्वमन्त्री रघुवीर महासेठ, प्रदेशका आन्तरिक मामिला तथा कानुनराज्यमन्त्री सरोज सिंह कुश्वाहा, नेकपाका प्रदेश सांसद शत्रुधन महतो, बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत लगायतले रेडक्रसका समेत पदाधिकारी घरघरमा पुगेर पीडितहरु चाँडै छानोको व्यवस्था गर्ने भन्दै सान्त्वना दिए । लस्करै पुगेर सान्त्वना दिँदै उनीहरु फोटो खिचाउँदै दुईसाता भित्रै जस्तापाता र त्रिपाल दिने आश्वासन बाँडेर जनताको नेता भन्दै सस्तो लोकप्रियता कमाए ।
तर असिनापानीले क्षति भइँ वर्षामा छानोफुटेको घरमा कष्टकर जीवन व्यथित गरिरहेका एकघर गरिबलाई पनि हालसम्म त्यहाँ अवलोकनमा पुगेका कुनै निकायबाट एउटा त्रिपाल समेत पाएनन् । दुईसातामा जस्ता पाता नदिएपछि सामथ्र्य भएकाहरुले आफ्नै निजी लगानीमा घरको छानो टालटुल पारे पनि जनमजदुरी गरी खाने गरिब तथा विपन्न परिवार अझै चुहिएको छानो भित्र कष्टकर जीवन व्यथित गर्न बाध्य छन् ।
‘हामी तुरन्तै छानो दिन्छौँ भनेर ठूला ठूला नेता, मन्त्री, सांसद, स्थानीय सरकार घर हेरेर फर्केर गए । असिना परेको दुई महिना बित्यो तर हामीले उनीहरुबाट एउटा त्रिपाल समेत पाउन सकेनौ,’ वर्षामा भिजेरै गुजारा गरिरहेकी चित्रपुरकी स्थानीय सुमित्रा देवीले भनिन्, ‘पैसा छैन कहाँबाट मर्मत गराउने अनि छानो हाल्ने ? वषार्मा छोराछोरीलाई अरुको घर पठाइदिन्छौँँ ।’ मन्त्री, नेता तथा जनप्रनिधिले पटक पटक ढाँटेर गएपछि वर्षाको पानीले हिलाम्य घरमै बस्न बाध्य भएकी धनुषा बटेश्वर गाउँपालिका—१ चित्रपुरकी सुमित्रा देवी निराश छिन् ।
उनको घर पुरै हिलाम्य छ । काठको पुरानो खम्बाले ठड्याएको उनको घर कतिखेर खस्ने ठेगान छैन् । ४ जना छोराछोरी र श्रीमान सहित बस्दै आएकी सुमित्राको वर्षा आउनसाथ भयवित हुन्छिन् । गत वैशाख १२ गतेको हावाहुरीसँग आएको भारी असिनापानीले घरको छानोमा प्लालै प्वाल परेको छ ।
Sponsored
एक स्थानीयले राहतमा दिएको त्रिपालले घरको केही भाग ढाकिएपनि अधिकांस भाग पानीमा चुहिएको छ । वर्षाका कारण दिउँसो १२ बजेसम्म समेत उनको घरमा चुलो बल्दैन् । भोकले छोराछोरी कराउँछन् तर अन्य कुनै विकल्प नहुँदा त्यसैगरी गुजारा गर्न बाध्य छिन् सुमित्रा ।
गाउँपालिकाले चासो नदेखाएका कारण कष्ठकर जिवन बाँच्न उनीहरु बाध्य छन् । ‘हामी कसरी बाँचेका छौँ गाउँपालिका अध्यक्षले आजसम्म हेर्न आएका छैनन् । यहाँ गरिबको कोही छैनन् । जस्ता पातामा लुटने ठाउँ खोजेर यीनीहरु बसिरहेका होलान् । हामी मरेपनि यीनीहरु कसैलाई केही मतलब हुन्न,’ स्थानीय राजकुमार महतोले भने ।
मिथिला नगरपालिकाका १४ सय ८ घरधुरी र बटेश्वर गाउँपालिकाका—७ सय ३६ घरधुरी गरि जम्मा २१ सय ४४ घरधुरी असिनाले प्रभावित भएका थिए । असिना पिडितहरुलाई जस्तापाता दिने मन्त्रीपरिषदबाट समेत निर्णय भइसकेको बताइएको छ । तर गरिब परिवारलाई जस्तापाताकालागि गाउँपालिका अध्यक्ष र जिल्ला प्रशासन कार्यालय उदासिन छ ।
जस्तापाता किन नबाँडिएको विषयमा धनुषाका सिडियो कोषहरी निरौला बिदामा बसेकाले केही बताउन नसकिने जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत गणेश मिश्रले बताए ।
गाउँपालिका अध्यक्ष राउतले समेत पहलकदमीमा ढिलाई भएको स्वीकारे । जवकी गाउँपालिका पमुखले अन्य निकायबाट नभए वैशाख भित्रै गाउँपालिका आफै कुनै उपाय निकालेर चाँडै छानोको व्यवस्था गरिदिने प्रतिवद्धता गरेका थिए । लकडाउनमा कोरोना रोकथाममै व्यस्त रहेर पन्छिदै आएका गाउँपालिका अध्यक्ष राउत अहिले गाउँसभाको तयारीमा रहेकाले करिब १५ दिनदेखि त्यसबारेमा बुझ्न नसकेको बताए ।
यता जस्तापाता खारिदमा कमिसनमा भागवण्डा नमिलेपछि जनतालाई बाँड्न नसकेको गाउँपालिका अध्यक्ष निकट स्रोतले जनाएको छ ।