मधेश सरकारको ६४ बुँदे खर्च मार्गदर्शन खारेज, ४ बुँदे जारी
टुडेपाटी-
जनकपुरधाम, मंसिर १५ गते ।
मधेश सरकारको टाउको दुखाई बनेको चालु आर्थिक वर्ष २०८१।०८२ को बजेट खर्च मार्गदर्शन अर्थ मन्त्रालेले खारजे गरेको छ । अर्थ मन्त्रालयले ४ साउनमा जारी गरेको ६४ बुँदे खर्च मार्गदर्शन खारेज गरेको हो ।
मार्गदर्शनको ४० नम्बर बुँदाले बजेट खर्चमा झेल र सरकारको पफरमेन्समा बदनामी झेल्न थालेको थियो । मार्गदर्शनको ४० नम्बर बुँदामा बहुवर्षीय खरिद प्रक्रिया पूरा गरी कार्यान्वयनमा रहेका आयोजनाबाहेक १६ शीर्षकमा बजेट खर्च गर्न सार्वजनिक खरिद ऐन र नियमावली अनुसार खरिद योजना तयार गरी अर्थ मन्त्रालयबाट पूर्वस्वीकृति लिनुपर्ने प्रावधान राखिएको थियो ।
सोही बुँदालाई टेकेर अर्थ मन्त्रालयले बजेट खर्च प्रणाली पीएलआईएमबीएसमा बजेट लक राखेको थियो । उक्त बुँदाले सार्वजनिक खरिद ऐनलाई संकुचन गरेको र तत्कालीन अर्थ सचिव सुवासचन्द्र सिवाकोटीले तथा अनावश्यक बखेडा झिकेर हिरो बन्न खोजेको भन्दै अन्य मन्त्रालय असन्तुष्ट बनेका थिए । करिब तीनसाता अघि आएका नयाँ अर्थ सचिव रामकुमार महतोले बजेट लक खोलेका थिए । यधपी जारी बजेट खर्च मार्गदर्शन यथावत रहँदा बजेट खर्चमा मन्त्रालयहरु अलमलमा थियो ।
तत्कालीन अर्थसचिव सिवाकोटीको हस्ताक्षरित जारी गरिएको चालु आर्थिक वर्षकको बजेट खर्च मार्गदर्शन मन्त्रालेले खारेज गरेर नयाँ चारबुँदे मार्गदर्शन जारी गरेको हो ।
यसअघि जारी गरिएको मार्गदर्शन खारेज भएकाले नयाँ मार्गदर्शनलाई टेकेर काम गर्न अर्थ मन्त्रालयले मन्त्रालय तथा सम्बन्धित निकायमा शुक्रबार नै पत्राचार गरेको हो ।
‘ मधेश प्रदेश सरकार अर्थ मन्त्रालयको पत्र संख्या २०८१/८२, चलानी नं. १, मिति २०८१/०४/०२ को आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन खारेज गरिएको छ । सो मार्गदर्शन बमोजिम भए गरेका काम कारवाही यसै मार्गदर्शन बमोजिम भए गरेको मानिनेछ’ नयाँ खर्च मार्गदर्शनको चौथो बुँदामा उल्लेख छ ।
Sponsored