महोत्तरीमा डाका गिरोहका चार भारतीयसहित ६ जना पक्राउ
टुडेपाटी–
जनकपुरधाम, मंसिर १४ गते ।
श्रृंखलाबद्ध चोरी, डाँका तथा लुटपाटमा संलग्न गिरोहका चार भारतीय सहित ६ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतीयहरु विहार सितामढी बेला थाना ग्राम पंचायत शिवनगर वडा नं. १ फुलहटा घर भई हाल महोत्तरीको गौशाला नगरपालिका ४ निगौल बस्ने वर्ष ३० का डाक्टर भन्ने प्रमोद कुमार साह, उनकी श्रीमती सन्जु देवी साह, सितामढी नगरपालिका जानकीनगर घर भई हाल गौशाला ५ महलिया टोलमा बस्दै आएका ५२ वर्षीय रन्धिर साह र सितामढी वेला थाना विष्णुपुर पंचायत बस्ने वर्ष २४ का गोलु भन्ने सुधिर भण्डारी माली छन् ।
यस्तै महोत्तरीको गौशाला नगरपालिका ९ बिसरपुरका २८ वर्षीय ललन साह र गौशाला नगरपालिका ६ फुलकाहा बस्ने वर्ष २६ का राकेश कुमार यादव रहेको महोत्तरीका प्रहरी प्रवक्ता सन्तुलाल जयसवारले जानकारी दिए ।
डिएसपी जयसवारका अनुसार उनीहरु विभिन्न समय र स्थानहरुमा हातहतियार देखाएर लुटपाट गरेको घटनामा संलग्न रहेको पाइएको छ ।
Sponsored
२८ साउन राती महोत्तरी औरही नगरपालिका ६ स्थित संजय कुमार यादबको घरमा, ५ भदौ राति गौशाला नगरपालिका २ निगौल स्थित पुनम देवीको घरमा, २० भदौ बिहान गौशाला नगरपालिका १० जलिल टोल बस्ने अपसना खातुन र राम बालक राउत कुर्मीको घरमा, २१ भदौमा बिहान गौशाला नगरपालिका ४ रजखोर टोल बस्ने शुशिला देवीको घरमा उनीहरुले चोरी तथा लुटपाट गरेको खुलेको डिएसपी जयसवारले बताए ।
उनीहरुको साथबाट लुटपाटमा संलग्न रहेको हातहतियार समेत फेला परेको छ । म्यागजितसहितको पेस्तोल दुईथान, नलकटुवा बनदुक १ थान, म्याग्जिनमा लोड रहेको गोली ५ राउण्ड, र पिँधमा विभिन्न नाम लेखिएको गोली १९ थान बरामद भएको डिएसपी जयसवारले जानकारी दिए ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।