वीरगञ्जमा डेढ वर्षका बालकसहित ११ जनाले कोरोना जितेर घर फर्किए
टुडेपाटी-
वीरगञ्ज, असार ८ गते ।
वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालबाट ११ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको छ । अस्पतालले डेढ वर्षका बालकसहित ११ जना संक्रमितलाई सोमबार डिस्चार्ज गरेको हो ।
डिस्चार्ज हुनेमा सखुवाप्रसौनीका डेढ वर्ष र ३ वर्षका दुई जना बालक र ३० वर्षीया एक जना महिला छन् । उनीहरु तीनै जनामा जेठ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । सखुवाप्रसौनी–२ गुलरियास्थित क्वारेन्टिनमा बस्दा सानो बच्चालाई ज्वरो आएपछि उनीहरुलाई रिफर गरेर वीरगञ्ज पठाइएको थियो । वीरगञ्जमा उनीहरुको पीसीआर टेस्ट गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले भने, ‘तीनै जना सखुवा प्रसौनीस्थित क्वारेन्टिनमा ५ दिन बसेका रहेछन् । संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा ६ दिनबसेपछि उनीहरुको पीसीआर परीक्षण गरेका थियौं । जसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरेका हौं ।’
त्यस्तै डिस्चार्ज हुनेमा जगरनाथपुर गाउँपालिकाका–६ का २५ वर्षीया एक जना महिला र २० देखि ५५ वर्षका सात जना पुरुष छन् ।
गण्डक कोभिड अस्पताललमा अब ६ जना महिलासहित ३२ जना संक्रमित उपचाररत छन् ।
पर्सामा हालसम्म २ जना पत्रकार, ९ जना स्वास्थ्यकर्मी, ५ जना भारतीय नागरिक समेत गरी १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एउटा बेवारिसे शवमा पनि कोरोना संक्रमण देखिएको हो ।
Sponsored