धर्म प्रचारमा आएर लकडाउनमा रोकिएका ९ पाकिस्तानी स्वदेश फिर्ता
टुडेपाटी-
जनकपुरधाम, असार ८ गते ।
लकडाउन सुरु हुन अघि मोरंग आएका ९ पाकिस्तानी सोमबार स्वदेश फिर्ता भएका छन् ।
तीन महिनादेखि उनीहरुलाई मोरङको सुनवर्षी नगरपालिका–९ स्थित मस्जिदमा राखिएको थियो । आवश्यक सबै प्रक्रिया पूरा भएर आफ्नो मुलुक फर्कने वातावरण बनेपछि उनीहरुले मोरङ छाडेका हुन् ।
पाकिस्तानी नागरिकहरु जेहाद, साहिद स्लाम, खान, अली, ज्यादा, उल्लाहा, खान, इम्त्याज र जामिन इस्लाम धर्म प्रचारका लागि चैत १० गते आएका थिए ।
चैत ११ गते ‘लकडाउन’ सुरु भएपछि ६० वर्षमाथिका उनीहरुलाई मोरङ प्रशासनको निर्देशनमा मस्जिदमै क्वारेन्टिनमा राखिएको थियो । ‘लकडाउन’सँगै पाकिस्तानी नागरिकलाई बाहिर हिँडडुल, भेटघाट, धर्मको प्रचार गर्न र आफ्नो मुलुक फर्कन रोक लगाइएको थियो ।
कोरोना परीक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ आएको मोरङ प्रशासनले जनाएको छ । स्थानीय मुस्लिम अगुवाका अनुसार उनीहरु मुस्लिम समुदायलाई शिक्षादीक्षा दिन र जनचेतना फैलाउन आएका थिए ।
Sponsored
पाकिस्तानी दूतावासको पहलमा मोरङमा रोकिएका सबै पाकिस्तानी नागरिकलाई आफ्नो मुलुक फर्कने वातावरण बनाइएको मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।
मोरङबाट काठमाडौं पुगेपछि उनीहरुलाई जहाजमार्फत पाकिस्तान पठाउने तयारी भइरहेको जानकारी भुजेलले बताए ।