श्वास रहुञ्जेल खुट्टा तान्ने !
रश्मिश्री सिंह (विचार)
हाम्रो समाजमा विद्यमान रहेको मन्द बुद्धि प्रवृत्ति मध्ये खुट्टा तान्ने प्रवृत्ति पनि एक हो । यो प्रवृत्तिको उत्पत्ति कहाँ, कसरी, किन भएको हो भन्ने कुरा अड्कल लाउन नसकिएला ।
मानौँ यो हाम्रो मानव मस्तिष्कमा रहेको कुविचारको उपज हो । खुट्टा तान्ने लहरको साटो रहर हुनु नै समाजमा सकारात्मक सोचाइले ठाउँ ओगट्नु हो । के त्यो समय आउला र ?
खुट्टा तान्ने प्रवृत्ति भन्दा पनि यसलाई एक खेलको रूपमा लिँदा अलि सुहाउँदो हो । बडो मजेदार र रिस्कले भरिपुर्ण खेलको रुपमा परिचित गराए यसको अस्तित्वमा कुनै असर नपर्ला । अहिले कालो खेलको रुपमा चिनिने राजनीतिलाई पनि खुट्टा तान्ने खेलले टक्कर दिन नसक्ला भनेर पनि भन्न सकिन्न ।
खेलखेलमै याद आयो । कब्बडी भन्ने खेल त निकै प्रचलित खेल हो । यो खेलमा पनि सास रहुन्जेलसम्म “तान्ने” क्रियाकलाप नै गरिन्छ । अझ यो खेलमा खुट्टा मात्र होइन हात,टाउको र कपाल नि तानातान हुन्छ । कुनै कुनै बेला त सास फेरुन्जेलसम्म कपडा पनि तानतुन गरेर मिल्काउन भ्याउँछ्न् । क्या डेन्जर गेम रहेछ है !
तर कब्बडी भन्दा पनि डेन्जर गेम हुन्छ खुट्टा तान्ने गेम । न त खुट्टा तानेको नै देखिन्छ न त खुट्टा तान्नेको चेहरा नै देखिन्छ तर पनि भित्रभित्रै यो गेमले आफ्नो कमाल देखाइरहेको नै हुन्छ । ओहो ! क्या इन्टेरेस्टिङ गेम ।
अझ भनौं यो खेलमा कुनै प्रकारको नियम हुँदैन । रङ ,भेद,जात,धर्म,लिङ्ग इत्यादी कुनै पनि प्रकारको लिमिट हुँदैन । जो कोहीले पनि यो खेलमा सहभागी हुन सक्छ । झन् यो खेल खेल्ने समय नि तोकिएको हुदैन । दिनरात,बिहानबेलुका र शनिबार पनि यो खेल खेल्न सकिन्छ ।
Sponsored
निसङ्कोच यो खेल खेल्न सुरु गरे हुन्छ । यो खेलको लागि मैदानमा पनि ओर्लिनु नपर्ने सहजता छ तर पनि ओलम्पिक्समा जितेझै शानले आफ्नो टाउको उठाएर र छाती फुलाएर अरु समक्ष प्रकट हुनुको मज्जा नै छुट्टै छ ।
खुट्टा तान्ने पनि एउटा तरिका हुने हो भने यो खेल अलि मर्यादित हुन सक्ला । आफुभन्दा साना व्यक्ति , मर्यादामा पनि आफुभन्दा तल्लो व्यक्तिहरुसँग पनि यो खेल नखेल्न चुकेका छैनन् भन्ने कुरा पनि हामी सबैलाई थाहा हुनुपर्ने नै हो ।
अझ परिवारका सदस्यहरुमा पनि यो खेल निकै लोकप्रिय छ । अलिकति आफ्नो पाइला अगाडि चाल्न मात्र खोज्नुपर्छ, पछाडीबाट तपाईंको खुट्टा तान्नेका कमिलाको ताँतीझै लस्कर देखिन्छ । उभेर खुट्टा तान्न नसकिएला भन्ने पीरले, भुँइमा लम्पसार भएर र आँखा पनि नझिम्क्याइ सुती सुती अगाडि चालेको पाइला तान्नको मज्जा पनि अरुलाई के थाहा ? र त्यो पनि पछाडिबाट है ।
अगाडि आएर “म तपाईंको खुट्टा तान्छु है” भनेर कोहि भन्दैनन् । यो कार्य पछाडीबाट नै गरिन्छ । आफुभन्दा साना व्यक्तिले खुट्टा तान्यो भने,“ल सानो छ । खुट्टा छोए बापत आशिर्वाद नि दिन मिल्ला ।”
तर आफुभन्दा ठुला र मान्यजन खुट्टा तान्ने खेलमा सङ्ग्लग्न भएको देख्दा त सार्है चित्त दुख्छ । आशीर्वाद नि दिन नपाउने अवस्था आइपर्छ र अन्त्यमा भन्न पुगिन्छ “ए, लड्नुभएछ क्यारे । अलि बिस्तारै हिँड्ने गर्नु । आफुभन्दा ठुलाबडाका स्थान खुट्टामा होइन मनमा हुन्छ र हात पाउमा होइन टाउकोमा हुन्छ र त्यो नि आशीर्वाद दिनको लागि । ”
हामी चाहिँ किन पछाडी हट्ने त । यति राम्रो खेलको खेलाडी बन्न कसलाई मन नपर्ला र ? काठको भर्र्याङ् चढ्दा तलबाट कसैले खुट्टा तानेको अनुभव गर्नुभएको छ कि नाइँ ? छैन भने एकचोटी त्यहाँबाट नै यो खेलको सुरुवात गर्ने कोशिस गर्नुहोला । निकै प्रेरणा मिल्नेछ र
अगाडि बढ्ने हौसला पनि ।
फेरि समय बित्दै जान्छ र यो खेलमा निपुणता हासिल गर्न बेर लाग्दैन । त्यसैले आज , अहिले र यहि समयबाट नै यो खेल खेल्न सिकौँ । यो खेलको सुरुवातमा अलि कठिनाइ होला तर भविष्यमा गोल्ड मेडालिस्ट बन्न कसैले रोक्न सक्दैन र स्वर्ण अक्षरमा तपाईंको नाम पनि लेखिनेछ “फलानो दि गोल्ड मेडालिस्ट अफ् दि इयर …. ”