भौतिक आक्रमण नरोकिए आन्दोलनमा जाने महासंघको चेतावनी
टुडेपाटी-
काठमाडौं, जेठ २८ गते ।
निर्माण व्यवसायी महासंघले निर्माण उपकरणमाथि हुने भौतिक आक्रमण नरोकिए आन्दोलनमा जाने चेतावनी दिएको छ।
महासंघले देशभर भइरहेको निर्माण कार्य रोकेर आन्दोलनमा जाने चेतावनी दिएको हो।
दाङको गढवा गाउँपालिकामा पार्किङ गरेर राखिएका पाँचवटा स्काभेटरमा अज्ञात समूहबाट आगजनी गरेका थिए।
हिजाे मध्यरातमा भएको आगजनीका कारण चारवटा स्काभेटर जलेर नष्ट भएको र अर्कोमा आंशिक क्षति पुगेको छ।
Sponsored
महासंघले आज विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायीहरूलाई अज्ञात समूहबाट पटक-पटक हतोत्साहित गर्ने गरी हिंसात्मक घटना भइरहेको बताएको छ। विज्ञप्तिमा भनिएको छ, “निर्माण व्यवसायी र निर्माण उपकरणको सुरक्षालाई लिएर महासंघले पटक/पटक सरोकारवाला सबैको ध्यानाकर्षण गराइरहेको छ। तर, त्यस्ता गतिविधिमा कमी नआउने चिन्ताको विषय हो।”
अज्ञात समूहको आगजनीबाट बा२क ४४८२, बा१क २२७१, बा२क ३१४८, रा१ख ७१३ र एउटा अनटेस्ट स्क्याभेटमा आगजनी गरिँदा करोडौंको क्षति भएको छ।
ती स्काभेटरहरू कल्याणकोट-कालाकाटे गढवा सिक्टा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका थिए।