राजमार्ग क्षेत्रको १३ निजी अस्पतालमा मधेश सरकारको छड्के, १२ वटा अवैध
टुडेपाटी–
जनकपुरधाम, फागुन १७ गते ।
मधेश प्रदेश सरकारले शनिबार सर्लाही र रौतहटको१३ वटा निजी अस्पतालको छड्के अनुगमन गरेको छ । जसमा १२ वटा अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ।
मुख्यमन्त्री सतिशकुमार सिंहको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहसहितको टोलीले शनिबार साँझ रौतहटको चन्द्रपुर र सर्लाहीको हरिवनस्थित अस्पतालहरूको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा चन्द्रपुरस्थित चन्द्रपुर हस्पिटल प्रालि मात्र अनुमति लिएर सञ्चालनमा रहेको देखिएको प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव राजेश मिश्रले जानकारी दिए।
अनुगमनका क्रममा सेवा सञ्चालन अनुमति नलिएका रौतहटको चन्द्रपुरस्थित हाइवे ट्रमा हस्पिटल एन्ड रिसर्च सेन्टर, सिभिल ह्युमन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी हस्पिटल प्रालि, हिमालयन पोलिक्लिनिक, सिम्स अस्पताल प्रालि, चन्द्रपुर अर्थोपेडिक एन्ड जेनरल हस्पिटल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र, चन्द्रपुर सामुदायिक हस्पिटल प्रालि र मोडेल अर्थोपेडिक एन्ड जेनरल हस्पिटल प्रालिलाई तत्काल बन्द गर्ने निर्देशन दिइएको छ।
त्यसैगरी, सर्लाहीको हरिवनस्थित दयन्ती हस्पिटल प्रालि र सर्लाही जीवन हेल्थ केयर प्रालि लाई समेत अनुमति नलिएको भन्दै बन्द गर्न आदेश दिइएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए।
अधिकांश अस्पतालहरू कम्पनी दर्ता मात्र गरी वा कुनै आधिकारिक स्वीकृति नलिई सञ्चालन भइरहेको पाइएकाले प्रदेश सरकारले अनुगमनलाई तीव्र बनाएको हो।
मापदण्डबिना सञ्चालन भएका अस्पतालहरूमा भौतिक पूर्वाधार, आवश्यक औषधि तथा उपकरणको उचित व्यवस्था नभएको, योग्य स्वास्थ्यकर्मीको अभाव रहेको र उपचार महँगो पारिएको जनगुनासो बढ्दै गएको छ। यसैकारण, बिरामीको स्वास्थ्य अवस्था गम्भीर बन्ने र कतिपय अवस्थामा ज्यान नै जोखिममा पर्ने अवस्था आएको छ।
यसअघि, मुख्यमन्त्री सिंहले जनकपुरधाम, बर्दिवास, वीरगञ्ज लगायतका क्षेत्रमा पनि अस्पताल अनुगमन गरिसका छन् ।
प्रदेश सरकारले बन्द गरिएका अस्पतालहरूलाई कानुनी प्रक्रिया पूरा गरेर मात्र पुनः सञ्चालनमा आउन निर्देशन दिएको छ।