भंगहा नगरपालिकामा तालाबन्दी गरी मेयरले सिडिओलाई बुझाए साँचो
टुडेपाटी–
जनकपुरधाम, फागुन १८ गते ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यसंपादनमा अवरोध भएपछि महोत्तरीको भंगहा नगरपालिकामा तालाबन्दी गरिएको छ। मेयर संजिवकुमार साहसहितका जनप्रतिनिधिले कार्यालयमा तालाबन्दी गर्दै साँचो प्रमुख जिल्ला अधिकारी (सिडिओ) लालबाबु कवारीलाई बुझाएका छन्।
गत माघ ९ गते निमित्त प्रशासकीय अधिकृत विजयकुमार यादवलाई सामान्य प्रशासन मन्त्रालयले हटाएपछि लेखा अधिकृत रामसागर यादवलाई वरिष्ठताको आधारमा निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएको थियो। तर, फागुन ४ गते मन्त्रालयले उपसचिव होमप्रसाद घिमिरेलाई स्थायी प्रमुख प्रशासकीय अधिकृतको रूपमा पठाएपछि रामसागर यादवको जिम्मेवारी खोसियो।
तर, घिमिरे हालसम्म कार्यालय नआएको मेयर साहको गुनासो छ। उनले तीन दिनसम्म मन्त्रालयमा पुगेर गुनासो राखे पनि समाधान नभएको र मन्त्रीले भेट्नसमेत समय नदिएको गुनासो व्यक्त गरे।
प्रशासकीय अधिकृतबिना नगरपालिकाका विकास कार्य ठप्प भएको, टेन्डर आह्वान गर्न नसकिएको र प्रशासनिक कामकाज प्रभावित भएकाले बाध्य भएर तालाबन्दी गरिएको मेयर साहले बताए।