तीन वर्षपछि लक्ष्यअनुसार उठ्यो जनकपुर राजस्व कार्यालयको राजस्व
टुडेपाटी-
जनकपुरधाम, फागुन १० गते ।
तीन वर्षपछि आन्तरिक राजस्व कार्यालय जनकपुरले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सफल भएको छ। चालु आर्थिक वर्षको माघ महिनामै १२२% राजस्व संकलन भइसकेको छ।
गत माघ महिनामा ३० करोड ९६ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ३७ करोड ७४ लाख ५८ हजार रुपैयाँ संकलन भएको कर अधिकृत आनन्दकुमार गुप्ताले जानकारी दिए। यो लक्ष्यभन्दा २२ प्रतिशत बढी हो।
चालु आर्थिक वर्षको माघ महिनासम्म २ अर्ब ५१ करोड ६० लाख ७५ हजार रुपैयाँ राजस्व असुल्ने लक्ष्य राखिएकोमा २ अर्ब ५१ करोड १ लाख ३० हजार रुपैयाँ संकलन भइसकेको छ, जुन लक्ष्यको शतप्रतिशत हो।
आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/०८१ सम्म कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको थिएन। तथ्यांकअनुसार, आर्थिक वर्ष २०७८/०७९ मा ९४%, २०७९/०८० मा ९३% र २०८०/०८१ मा ८६% मात्र राजस्व संकलन भएको थियो।
कार्यालय प्रमुख गुप्ताका अनुसार सेवा प्रवाह सुधार, सरकारी तथा अर्धसरकारी संस्थाहरूको टिडिएस समयमै दाखिला गराउने पहल, करदाता सचेतना कार्यक्रम, बजार अनुगमन, अन्तःशुल्क प्रतिष्ठानहरूको नियमित निरीक्षण, बक्यौता असुलीमा प्राथमिकता तथा व्यवसायीहरूमाझ करशिक्षा कार्यक्रम सञ्चालन जस्ता प्रयासले लक्ष्यअनुसारको राजस्व संकलनमा योगदान पुर्याएको छ।
यसैगरी, आर्थिक ऐन २०८१ ले प्रदान गरेका छुट सुविधाहरूको व्यापक प्रचारप्रसार, धनुषाका १७ पालिकामा ननफाइलर करदाताहरूको सूचना टाँस, बल्क एसएमएस, टेलिफोन, पत्राचार तथा समन्वयका उपाय अपनाइएको गुप्ताले जानकारी दिए।