TodayPati

जनकपुर सुधार केन्द्रमा युवकको शंकास्पद मृत्यु, छानबिनको माग

टुडेपाटी-
जनकपुरधाम, फागुन ८ गते ।

जनकपुरधामको एक सुधार केन्द्रमा एक युवकको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाका २० वर्षीय राजकुमार यादव छन् ।
बुधबार साँझ उनको मृत्यु भएको हो । उनी दुई महिनादेखि जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगाशिवपुरस्थित किशोर फाउण्डेशन (सुधार केन्द्र)मा बसिरहेका थिए ।

किशोर फाउण्डेशनका व्यवस्थापक सञ्जीव शर्माका अनुसार, राजकुमार नशाको कुलतमा रहेका थिए । बुधबार बिहान ११ बजे उनलाई घाँटीमा कफ जमेको र स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि जनकपुरको समर अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले औषधि उपचार गरी अवस्था सामान्य देखिएको भन्दै निगरानीमा राख्न सल्लाह दिएका थिए। तर, पुनः समस्या देखिएपछि उनलाई साँझ ४ः३० बजे प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो, जहाँ उपचारको क्रममा मृत्यु भएको शर्माको दाबी छ ।

तर, प्रादेशिक अस्पताल जनकपुरका आकस्मिक कक्षका इन्चार्ज सरद यादवले भने, राजकुमारलाई अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको बताएका छन् । आकस्मिक कक्षमा रहेका मेडिकल अफिसरहरू राधे मण्डल र रमेश यादवका अनुसार, राजकुमार मानसिक समस्या भएका बिरामी थिए र नियमित औषधि सेवन गरिरहेका थिए ।

स्थानीय महेशलाल यादवका अनुसार, मृतककी आमा सरस्वती देवीले चार दिनअघि छोराको अनुहार मलिन देखेर घर लैजान चाहेको बताएकी थिइन्। तर, सुधार केन्द्रका सञ्चालकहरूले अझै ४–५ महिना बस्नुपर्ने भन्दै उनलाई रोकिएको थियो। परिवारजनले अत्यधिक औषधि खुवाइएकाले नै राजकुमारको मृत्यु भएको आशंका गरेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार, समर अस्पतालले उपचारपछि डिस्चार्ज गरेको थियो। ’राजकुमार लागू पदार्थ दुव्र्यसनी थिए। उनलाई समर अस्पतालमा उपचार गरी डिस्चार्ज गरियो। त्यसपछि सुतेको सुतै भए। नउठेपछि प्रादेशिक अस्पताल लगिएको बुझिएको छ। मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ,’ डीएसपी सिंहले बताए।

राजकुमारको शव बिहीबार प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गरिएको छ। परिवारजनले सुधार केन्द्रको लापरवाहीकै कारण शंकास्पद मृत्यु भएको आरोप लगाउँदै छानबिनको माग गरेका छन्।

राजकुमार घरका एक्ला छोरा थिए। उनका दुई सन्तान छन् भने उनका पिता रामबाबु वैदेशिक रोजगारीमा छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *