उपचारमा लापरबाही गर्ने जनकपुरको मुस्कान अस्पताल बन्द
टुडेपाटी-
जनकपुरधाम, माघ २६
उपचारमा लापरबाही गरेको आरोप लागेका कारण जनकपुरधामको पीडारीचोकस्थित दर्ताविहीन रूपमा सञ्चालित मुस्कान अस्पताल बन्द गरिएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनमा अस्पतालका सञ्चालकले आज तालाबन्दी गरी साँचो सरकारलाई बुझाएका छन् ।
गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गरिएपछि सर्लाहीको हरिपुर्वा नगरपालिका–५ की २५ वर्षीया बबिता कुमारी यादव अहिलेसम्म होसमा नआएको घटना सार्वजनिक भएपछि मुख्यमन्त्री सिंहले अस्पतालमा आकस्मिक अनुगमन गरेका थिए।
शनिबार राति ११ बजे अस्पताल पुगेर उनले घटनाबारे र अस्पतालको सञ्चालन बारे जानकारी लिएका थिए ।
मुख्यमन्त्री सिंहले दर्ता नवीकरण नगरेको र उपचारमा लापरवाही गरेको भन्दै आइतबार बिहान ११ बजेसम्म त्यहाँ रहेका बिरामीहरूको अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिएका थिए।
त्यसपछि अस्पताल प्रशासनले ताल्चा लगाएर साँचो सरकारलाई बुझाएको हो।