TodayPati

सिरहामा आठजना सडक मानवको उद्धार

टुडेपाटी-
जनकपुरधाम, कार्तिक ३ गते ।

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार सिरहाका विभिन्न स्थानहरूबाट आठ जना सडकमा आश्रित सहयोगापेक्षी मानिसहरूको उद्धार गरिएको छ । लहानबाट चार पुरुष र एक महिला, गोलबजारबाट एक पुरुष र एक महिला, तथा मिर्चैयाबाट एक पुरुष गरी आठजनालाई उद्धार गरिएको मानवसेवा आश्रमका महासचिव सुमन बर्तौलाले जानकारी दिए ।

‘यो चाडपर्वमा कोही पनि सडकपेटीमा बस्न नपरोस् ’ भन्ने उद्धेश्यले मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु गरिएको हो। महासचिव बर्तौलाका अनुसार उद्धार गरिएका व्यक्तिहरूलाई सर्लाहीको सेवा केन्द्रमा पठाइएको छ।

Sponsored

उनका अनुसार उद्धार अभियान अन्तर्गत कोशी प्रदेशका विभिन्न जिल्लाहरूबाट पनि ४३ जनालाई उद्धार गरिएको छ, जसमा १२ जना झापा, १२ जना सुनसरी, ४ जना मोरङ र १६ जना उदयपुरबाट छन्। उद्धार हुनेमा ९ महिला र ३५ पुरुष रहेका छन्। यस्तै, सप्तरीबाट दुई महिला र ११ पुरुषको पनि उद्धार गरिएको छ।

यो ३२ दिने उद्धार यात्रा गत असोज २६ गते विजयादशमीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। यात्रा कात्तिक २७ गतेसम्म जारी रहने जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *