TodayPati

महोत्तरीमा बाटो एकातिर, पुल अर्कोतिर बन्दा ७ वर्षदेखि प्रयोगबिहीन

टुडेपाटी-
जनकपुरधाम, भदौ २३ गते ।

महोत्तरीको भंगहा नगरपालिका–४ रामनगरविर्ता र वडा नम्बर ५ सितापुरबीचको बडहडी खोलामा निर्माण गरिएको पुल सात वर्षदेखि अलपत्र अवस्थामा छ। जिल्ला विकास समिति (जिविस) महोत्तरीले २०७४ सालमा निर्माण सम्पन्न गरेको यो पुल पूर्वपट्टि सडक नहुँदा प्रयोगमा आउन सकेको छैन। सर्वसाधारण र सवारीसाधनले खोला हुँदै पुलको तल्लो भागबाट आवतजावत गर्न बाध्य छन्। वर्षाको समयमा बाढी आउँदा भने स्थानीयवासीको जीवन थप कठिन बन्छ, आवतजावत पूर्ण रूपमा ठप्प हुन्छ ।

स्थानीय बासिन्दा समिर मन्सुरले भने, “पुल बनेको सात वर्ष भयो, तर सञ्चालनमा आएको छैन । वर्षामा बाढीको कारण आवतजावत रोकिन्छ । पुल हुँदा पनि हाम्रो पीडा उस्तै छ। यो पुलको के काम?”

Sponsored

महोत्तरीको गौशालादेखि धनुषाको सिक्सलेन सखुवा महेन्द्रनगरमा जोडिने यो सडकमा बनेको पुलको पूर्वतर्फ सडक नै छैन। सडक अलि उत्तरपट्टिको क्षेत्रमा छ, जसले पुललाई प्रयोग गर्न असम्भव बनाएको छ। स्थानीय शनिचर सदा भन्छन्, “यहाँ बाटो छ, तर पुल त अर्कोतिर छ । पुलमा चढ्नको लागि बाटो नै छैन, कसरी त्यसमा आवतजावत गर्ने ?”

जिविस महोत्तरीले २०७१ सालमा ठेक्का सम्झौता गरी २ करोड ६२ लाख रुपैयाँमा काठमाडौंस्थित इलिट कन्स्ट्रक्सन कम्पनीसँग ५० मिटर लामो पुल बनाउन सम्झौता गरेको थियो । प्रारम्भिक सम्झौताअनुसार २०७२ सालमै पुल सम्पन्न हुने योजना थियो । तर, तीन वर्ष लगाएर २०७४ सालमा पुलको निर्माण सम्पन्न भयो । पुल निर्माण सम्पन्न भए पनि २०७४ सालको बाढीले पूर्वतर्फको विङ्गल (साइड पर्खाल) बगाएपछि पुल सञ्चालनमा आउन सकेन ।

निर्माण कम्पनीका प्रतिनिधि दिपेन्द्र झाले भने, “बाढीले विङ्गल बगाएपछि पुल मर्मत हुन सकेन । जिविसको विघटनपछि फाइल भौतिक पूर्वाधार कार्यालय जनकपुरमा गयो, तर सरकारले बजेट छुट्याएन । त्यसैले पुल अझै सञ्चालनमा आउन सकेको छैन ।”

Sponsored

पुलमा स्थानीय सरकारले लगानी गरे जोखिम हुने डरले भंगहा नगरपालिका त्यस तर्फ तत्पर्ता नदेखाएको मेयर संजीवकुमार साहको तर्क छ । “पुल जिविसले बनाएको हो । नगरपालिकाले लगानी गरेर मर्मत गर्दा दोहोरो लगानीको समस्या आउन सक्छ । यसबारे अख्तियारमा उजुरी प¥यो भने हामीले जवाफ दिनु पर्ने हुन्छ । प्रदेश सरकार मातहत रहेको यो योजना मर्मत गरेर सञ्चालनमा ल्याउन हामीले पटक–पटक पहल गरेका छौँ । तर अझै आएको छैन” उनले गुनासो गरे ।

भौतिक पूर्वाधार विकास कार्यालय महोत्तरीका इन्जिनियर विरेन्द्र साहका अनुसार चालु आर्थिक वर्षमा पुल मर्मतका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। “यस वर्ष पुल मर्मत गरी सञ्चालनमा ल्याउने योजना छ,” उनले भने ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *