TodayPati

बटेश्वर गाउँपालिकाको ‘बर्थिङ सेन्टर’ भवन चार वर्षदेखि अलपत्र

टुडेपाटी-
जनकपुरधाम, भदौ १६ गते ।

धनुषाको बटेश्वर गाउँपालिकाको निर्माणाधीन प्रसूति भवन (बर्थिङ् सेन्टर) चार वर्षदेखि अलपत्र परेको छ । २०७६ साल जेठमा तत्कालीन पालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीको पालामा सुरु भएको यो भवन एक वर्षमै सम्पन्न हुनुपर्ने थियो, अझै अपूरो अवस्थामा छ ।

काठमाडौंको आकृति निर्माण सेवाले एक करोड ६ लाख १४ हजार २५५ रुपैयाँ ९३ पैसामा यो भवन निर्माणको ठेक्का पाएको थियो । पालिकासँग २०७६ साल जेठ ५ मा सम्झौता भएपछि निर्माणको काम सुरु भएको थियो । निर्माण कम्पनीले २०७७ साल जेठसम्म दुई किस्तामा ४८ लाख ८३ हजार ४४८ रुपैयाँ भुक्तानी पाइसकेको छ । त्यस यता इँटाले भित्ताको काम भयो । त्यसपछि भवन निर्माण अलपत्र छ ।

Sponsored

निर्माण अलपत्र हुनुको कारण हो कर्मचारीले सो योजनाको फाइलमा हात हाल्न नचाहनु । गाउँपालिकाका इन्जिनियर जितेन्द्र यादवका अनुसार, भवनको निर्माण प्रक्रिया इस्टिमेटभन्दा बाहिर गइसकेको छ । तत्कालीन अध्यक्ष क्षेत्रीको मौखिक आदेशमा इस्टिमेट भन्दा बाहिर गएर निर्माण कम्पनीले १८ लाखभन्दा बढीको इँटाको भित्ता थपेको छ । जसको भुक्तानी बाँकी छ । इस्टिमेट भन्दा बाहिरको काम भएकाले त्यसको भेरियेसन आदेश बनाउनु पर्छ ।

“इस्टिमेटबाहिरको काम हुँदा भेरियेसन आदेश चाहिन्छ । तर जोखिम मान्दै कुनै पनि प्रमुख प्रशासकीय अधिकृतले आदेश जारी गर्न चाहनुभएको छैन,” इन्जिनियर यादवले भने ।

२०७९ मा निर्वाचित भएका हालका अध्यक्ष रामअशिष महतोले पनि भवनप्रति चासो दिएका छैनन् । उनका अनुसार, इस्टिमेटभन्दा बाहिरको कामको डरले कुनै पनि कर्मचारीले फाइल छुन मानेका छैन । “अब साधारणसभामा छलफल गरेर भवनलाई पूर्णता दिने निर्णय गर्छौं” अध्यक्ष महतोले भने ।

Sponsored

निर्माण कम्पनीका संचालक रामकृपाल महतो पालिकाले बजेट छुट्याउन छाडेकापछि भवन निर्माणको काम अलपत्र परेको बताउँछन् । “एक करोड रुपैयाँ बजेट छुट्याइयो भने भवन पूर्णता पाउँछ,“ उनले भने “बजेट विनियोजन गर्न पटक पटक जनप्रतिनिधिलाई आग्रह गर्दा कसैले वास्ता गर्नु भएन”
प्रसूति भवन नबन्दा गाउँपालिकाका महिलाहरूलाई चेकजाँच र प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता यथावत् छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *