TodayPati

प्रथम राष्ट्रपति रामवरण यादव गाउँको सपही खानेपानी आयोजना १५ वर्षदेखि अधुरै

टुडेपाटी-
जनकपुरधाम, साउन २२ गते ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको गाउँ हो धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपही । सपही बजारको उत्तर र सिक्सलेन सडकको पूर्वी छेउमा टाँसिएरै छ सपही खानेपानी तथा सरसफाइ आयोजना । सहजै देखिन्छ ठड्याइएको पानी ट्यांकी । खानेपानी उपभोक्ता समितिका अध्यक्ष विन्देश्वर यादवका अनुसार डा.यादव राष्ट्रपति बनेपछि उनकै पहलमा आयोजना आयो । तत्कालीन सपही गाविसका एक हजार घरधुरीलाई स्वच्छ खानेपानी खुवाउने उद्देश्यले आर्थिक वर्ष २०६४।६५ मा सपही आयोजनाको प्रारम्भ भयो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय जनकपुरले पाँच वर्ष भित्र आयोजनालाई पूर्णता दिने लक्ष्य थियो । तर, निर्माण थालेको १५ वर्ष बित्दा अझै योजना अपूरो छ । डेढ दशकमा संचालनको कुनै सुरसार नहुँदा स्थानीय ८० वर्षीय बेचन यादवलाई आफ्नो जीवनकालमा पानी संचालन नहुने लागेको छ ‘योजना सुरु भएको १५–१६ वर्ष भइसक्यो । अहिलेसम्म संचालनमा आएन । अब खानेपानी चलेको मैले हेर्न पाउँछु की पाउँदिन ठेगान छैन’ बेचन भन्छन् ।

Sponsored

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय जलेश्वरका प्रमुख सुरेन्द्र शर्माका अनुसार निर्माणको अन्तिम चरणमा रहेको योजनाको गाउँवस्तीमा पाइँप जडान मात्र बाँकी छ । सरकारले समयमा उचित बजेट विनियोजन नगर्दा संचालनमा आउन धेरै समय लागेको उनको तर्क छ ।

‘वार्षिक रुपमा सरकारले थोरैथोरै मात्र बजेट दिँदा लामोसमय लागेको हो । सपही आयोजनाको काम अन्तिम चरणमा छ । गाउँमा खानेपानी पाइँप जडान गर्न मात्र बाँकी छ’ उनी भन्छन् ‘तर स्थानीयले श्रमदान गरेर पाइँप जडान गर्न नचाहँदा संचालनमा नआएको हो ।’

यस खानेपानी आयोजनाका उपभोक्ता समितका अध्यक्ष विन्देश्वर यादव लक्ष्मीनियाका पूर्व गाउँपालिका अध्यक्ष पनि छन् । उनी पालिका अध्यक्ष कार्यकालमा आयोजना संचालनमा ध्यान नदिएको स्थानीयको गुनासो छ ।

Sponsored

पूर्व राष्ट्रपति यादवको इच्छा अनुकुल उपभोक्ता समिति नबन्दा वास्ता नगरेपछि खानीपानी योजना निर्माणमा लामोसमय लागेको उपभोक्ता समितिका अध्यक्ष विन्देश्वरको गुनासो छ ।
‘इच्छानुकुल उपभोक्ता समिति नबन्दा राष्ट्रपतिजीले योजनाप्रति वास्ता गर्नु भएन । उहाँले चाहेको भए उहिले संचालनमा आउँथ्यो’ अध्यक्ष विन्देश्वर भन्छन् ‘मैले पनि संचालनको लागि धेरै प्रयास गरे । म पालिका अध्यक्ष हुँदा डिभिजनले श्रमदानको लागि भनेन् । नत्र गराइदिन्थे ।’

खानेपानी संचालनको लागि मधेशका खानेपानी मन्त्री शेषनारायण यादवलाई आग्रह गरेको र अब पाइप जडान भएर संचालन हुने उनको भनाइ छ ।
यता लक्ष्मीनिया गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले खानेपानी डिभिजन कार्यालय श्रमदान गरेर पाइप जडान गर्नुपर्ने कामको लागि आफूसित कहिल्यै कुरा नराखेको बताए । ‘म कहाँ खानेपानी डिभिजनले खानेपानी आयोजनाको विषयमा कहिले कुनै कुरा राखेको छैन । बाहिर बाहिर पाइप जडानको लागि श्रमदान गर्नुपर्छ भन्दै हिडेर हुन्छ ’ अध्यक्ष मिश्रले भने ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *