TodayPati

जनकपुरधाम उपमहानगरले झण्डै ९० लाखमा किनेको वारुणयन्त्रमा अनियमितता

टुडेपाटी
जनकपुरधाम, जेठ २९ गेत ।

जनकपुरधाम उप–महानगरपालिकाले वारुणयन्त्र खरिदमा अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७०।०८० को ६१ औं प्रतिवेदनमा उपमहानगरले आफै तयार गरेको स्पेशिफिकेशनमा भन्दा कमको वारुणयन्त्र खरिद गरेर ८९ लाख ९० हजार अनियमितता गरेको ठहर गरेको छ ।

उपमहानगरले आर्थिक वर्ष २०७९।०८० मा वारुणयन्त्र खरिदका लागि ९० लाख रकम विनियोजन गरेकोमा बोलपत्र मार्फत म्याप इन्टरप्राइजेजबाट ८९ लाख ९० हजारमा खरिद गरेको छ ।
खरिद कार्यको स्पेशिफिकेशनमा वारुणयन्त्रको ४५०० लिटर क्षमता वाटर ट्याङ्क, पाँचसय लिटर कोय क्षमता, हविल वेस लगाएतका ३२ वटा विषय खुलाई बोलपत्र आह्वान गरेपनि मेकानिकल इन्जिनियरले गरेको मूल्याकंनमा २२ वटा विषय मात्रै मिलेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

Sponsored

त्यस्तै वारुणयन्त्रको लागत अनुमान तयार गर्दा ३ वटा दररेटलाई आधार मात्र लिएको छ । अन्य सरकारी कार्यालयहरुले खरिद गरेको दर समेतलाई आधार लिई लागत अनुमान तयार नगरेको महालेखा परीक्षकको कार्यालयले त्रुटि औंल्याएको छ ।
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन अनुसार टेण्डर डकुमेण्टमा ३२ वटा विषयमा स्पेशिफिकेशन तोक्दा कतिपय संभावित प्रतिस्पर्धी फर्महरुले ठेक्कामा भाग लिन नसकेकाले प्रतिस्पर्धात्मकमा असर परेको छ ।

म्याप इन्टरनेशनलले पेश गरेको आर्थिक प्रस्ताव ०.११ प्रतिशत मात्रै न्यून अर्थात लागत अनुमानकै हाराहारीमा स्वीकृत भएको देखियो । यसरी खरिद प्रक्रिया संचालन गर्ने कार्यप्रणालीमा सुधार गर्नुपर्ने सुझाव लेखापरीक्षक कार्यालयले दिएको छ ।

प्राविधिक स्पेशिफिकेशनको ग्राहयता नपुगेको र कार्यालयले संशोधन समेत नगरेकोले ८९ लाख ९० हजार अनियमितता भएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा ठहर गरेको छ ।कर्मचारी स्रोतका अनुसार कमिसनको लागि मेयरसहित जनप्रतिनिधि र कर्मचारीको सेटिंगमा खरिद गरेर अनियमितता गरिएको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *