TodayPati

जनकपुरमा हरवाचरवाको राष्ट्रिय सम्मेलनद्वारा १७ बुँदे घोषणा-पत्र जारी, नयाँ कार्य समिति गठन


टुडेपाटी-
जनकपुर, वैशाख ८ गते ।

जनकपुरमा भएको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलन १७ बुँदे घोषणा-पत्र जारी गर्दै सम्पन्न भएको छ ।

शुक्रबारदेखि जनकपुरमा भएको सम्मेलनले मुक्त हरवाचरवाहरूको पुनःस्थापनासम्बन्धी कार्यविधि र कार्ययोजनालाई अबिलम्व पारित गरी लगत संकलन, प्रमाणीकरण र परिचयपत्र वितरणलगायत काम सुरु गर्न माग गरेको हो ।

Sponsored

मुक्तिको घोषणा गरिए पनि पुनस्र्थापनामा ध्यान नदिएको भन्दै तत्काल सोसम्बन्धी कार्य गर्न तीनै तहका सरकारलाई आग्रह गरेको हो ।
सम्मेलनले नेपाल सरकार भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले तयार गरी अर्थमन्त्रालयमा पठाएको पुनस्र्थापनासम्बन्धी कार्यविधि र कार्ययोजना पारित गर्न र मुक्त हलिया, कमैया–कम्लहरी तथा हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिले नेपाल सरकारसमक्ष पेश गरेको सिफारिससहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।
त्यस्तै, हरवाचरवालाई कम्तिमा १० कट्ठा जमिन, वैकल्पिक रोजगारीमा लाग्न इच्छुक रोजगारीविहीन हरवाचरवालाई तीन महिना, छ महिना र लामो अवधिका सीपमूलक तालिम, रु एक लाखको बीउ पुँजी र आवश्यक औजार प्रदान गर्न, एकीकृत प्याकेजसहितको बहुआयामिक गरिबी निवारण कार्यक्रम लागू गर्न, केन्द्र, प्रदेश तथा स्थानीय तहलाई समन्वयात्मक ढंगले समस्याको हल गर्ने गरी आगामी नीति तथा कार्यक्रम र बजेटमा स्पष्ट नीति ल्याउन माग गरिएको छ ।
सम्मेलनले जमिन तथा बसाइँको प्रमाण नभएका कारण आधा भन्दा बढी हरवाचरवाह नागरिकताबाट बंचित भएकाले राज्यबाट प्रदान हुने सामाजिक सुरक्षा तथा अवसरबाट बन्चित हुनुपरेकाले सोसम्बन्धी वैकल्पिक व्यवस्था गर्न तथा विकासका नाममा मुक्त हरवाचरवा बसोवास गर्दै आएको स्थानबाट विस्थापित गर्ने कार्य भइरहेकाले अर्को व्यवस्था नभएसम्म सोसम्बन्धी कार्य रोक्न सम्बन्धित निकायलाई निर्देशन जारी गर्नु पर्नेमा समेत जोड दिएको छ ।
यसका साथै मुक्त हलिया, कमैया, कम्लहरी र हरवाचरवाहरूका समस्याहरूको दीगो समाधान गर्न, पुनःस्थापना कार्यक्रमलाई प्रभावकारी बनाउन र बाध्यकारी श्रमलाई कानुनी रुपमा सदाका लागि निषेध गर्न एकीकृत बाध्यकारी श्रम निषेध ऐन आगामी संसद अधिवेशनबाट पारित गर्न माग गरिएको छ ।

मण्डलको अध्यक्षतमा २५ सदस्यीय कार्य समिति चयन
सम्मेलनले दशनलाल मण्डलको अध्यक्षतामा २५ सदस्यीय कार्यसमितिसमेत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा श्रीप्रसाद सदा, महासचिवमा लागिन्द्र सदा, सचिवमा मोहमद कासीम मिया र विगनेस पासवान तथा कोषाध्यक्षमा राजवती मण्डल छन् ।
समितिको केन्द्रीय सदस्यहरूमा सुमित्रा खङ्ग, गीतादेवी सदाय, तेतरीदेवी माँझी, सोनीया माझी, रामसखीदेवी खच्ने (मण्डल), ठकनीदेवी राम, अली मोहमद नदाफ, श्यामसुन्दर सदा, मधु सदा, देवेन्द्र राम, खुबलाल राम, दली माँझी, धनमन्ती राम, गोलीयादेवी राम, उपेन्द्र दाश रहेका छन् ।
बाँकी चार सदस्य कार्यसमितिले मनोनयन गर्ने नवनिर्वाचित गर्ने जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *