TodayPati

हरवाचरवाको तेस्रो राष्ट्रिय सम्मेलन जनकपुरमा सुरु

टुडेपाटी-
जनकपुरधाम, वैशाख ७ गते ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको जनकपुरधाममा सुरु भएको छ । शुक्रबार सम्मेलनको उद्घाटन मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले गरेका छन् ।

नयाँ नेतृत्व चयन गर्न सुरु भएको सम्मेलनको उदघाटन गर्दै मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

Sponsored

मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताए ।

“तपाईहरूले मुक्त हरवाचरवाका लागि १० कट्टा जमिनको माग गरिरहनुभएको छ तर मलाई जमिनभन्दा पनि उहाँहरूको दीगो जीविकोपार्जन र आत्मनिर्भरहुनका लागि उद्यमशीलतामा जोड दिनुपर्छ जस्तो लाग्छ”, मन्त्री न्यौपानेले भने,“व्यक्ति र समग्र समुदायको सामूहिकहीत र उत्थानका लागि बनाइने उद्यमशीलता प्रवद्र्धनका कार्यक्रममा हामीले पनि आवश्यक सहयोग गर्छौ ।”
मधेशमा सबैभन्दा सीमान्तकृत र भूइँ मान्छेका रूपमा रहेका हरवाचरवाहरूको समस्या समाधानका लागि प्रदेश सरकार सहयोग र सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।

कार्यक्रममा अधिकारकर्मी गणेश विश्वकर्माले पश्चिम नेपालका मुक्त कमैया, कमलहरी र सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर देखिए पनि मधेशका मुक्त हरवाचरवाको न्यायिक पुनस्र्थापनाका लागि पर्याप्त चासो देखाउन नसकेको बताए ।
मुक्तिको घोषणा गरे पनि वास्तविक हरवाचरवाको पहिचान, तथ्याङ्क संकलन र न्यायिक पुनस्र्थापनाका काममा ध्यान नदिँदा समस्या थप गिजोलिँदै गएको उनको धारणा थियो ।
कार्यक्रममा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले मुक्तिको घोषणा गरेर आफूहरूलाई सरकारले बेवास्ता गर्न खोजेको आरोप लगाए। उनले अब तत्काल समस्या समाधान र आफ्ना मागको सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

Sponsored

कार्यक्रममा अधिवक्ता बालाराम भट्टराई, अधिकारकर्मी ब्रह्मदेव राम, मञ्चका महासचिव लागेन्द्र सदालगायतले मधेश प्रदेश केन्द्रीत हरवाचरवा समस्या समाधानका लागि यहाँकै सरकारले अझ बढी पहलकदमी लिन जरूरी रहेकामा जोड दिए ।

नयाँ नेतृत्व चयन गर्न सुरु भएको सम्मेलनमा मधेश प्रदेशका आठै जिल्लाका मुक्त हरवाचरवाका प्रतिनिधि, पर्यवेक्षक र विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता छ ।
सम्मेलन नयाँ नेतृत्व चयन गर्दै भोली सम्पन्न हुने जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *