सर्लाहीको विष्णु गाउँपालिकामा आगलागी हुँदा सय बढी घर जलेर खरानी
टुडेपाटी-
जनकपुरधाम, वैशाख २० गते ।
सर्लाहीको विष्णु गाउँपालिका १ बाराद्धोरण टोलमा भीषण आगलागी हुँदा सय बढी घर जलेर नष्ट भएको छ । दिउँसो ३ बजेबाट सुरु भएको आगलागी साँझ ७: १५ बजे मात्र नियन्त्रणमा आएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार चारवटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।
आगलागीले सयभन्दा बढी घर जलेर खरानी भएको विष्णु गाउँपालिका अध्यक्ष जवाहर यादवले बताए । अधिकांश पटेल परिवारको विपन्न वस्ती रहेकाले ठूलो क्षति भएको उनले बताए ।
गाउँपालिकाले केही समय पहिले बाँडेको खाना पकाउने ग्यास सिलिन्डर पटक पटक घरहरुमा बिस्फोट हुँदा झन् आगो सल्केर वस्तीलाई चपेटामा लिएको उनको भनाइ छ ।
डिएसपी श्रेष्ठले कति घर जल्यो भने एकिन विवरण संकलनको काम भइरहेको बताए । आगलागी कसरी भयो भन्ने अहिलेसम्म नखुलेको प्रहरीको भनाइ छ ।
Sponsored