हेफरको सहयोगले आत्मनिर्भर बन्दै गृहिणीहरु
प्रतिभा झा –
जनकपुरधाम, चैत २ गते ।
मधेश प्रदेश कृषि उर्वर भूमि हो । तर, कृषिमा समर्पित एवं दुग्धको धारा मानिने भूमिलाई छाडेर युवा जनशक्ति विदेश पलायन हुँदै छन् । पछिल्लो कृषि गणना २०७८ अनुसार नेपालमा ३९ लाख ९९ हजार परिवारले खेतीपाती गरेको तथ्यांक छ । जस अनुसार एक लाख ३२ हजार मानिस पशुपन्छी मात्र पाल्ने गरेका छन् । नेपाल भरिमा ७ लाख ७१ हजार ३ सय २७ जनाले श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । जसमध्ये नेपालकै सबैभन्दा बढी युवा विदेशीने प्रदेश नै मधेश रहेको छ । मधेशको धनुषा जिल्लामा मात्र ३९ हजार ५ सय ७९ जनाले श्रम गराएको तथ्यांक छ ।
महोत्तरीको मटिहानी नगरपालिकाका महिलाहरु आत्मनिर्भर बन्न आफ्नै माटोमा सीप चलाउन सुरु गरिसकेका छन् । हेफर ईन्टरनेशनल नेपालको आयोजनामा हेफर परियोजना नेपालले मटिहानी नगरपालिकाको सहयोग तथा रतौली युवा क्लवको साझेदारीमा महिलाहरु आत्मनिर्भर बन्न जुटेका छन् । मुख्यतः कृषि, पशु तथा दुग्ध पदार्थमा केन्द्रित रहेर हेफर परियोजना संचालन छ । जसबाट संयौ महिला आत्मनिर्भर बन्न पुगेका छन् ।
मटिहानी नगरपालिकाको ९ वटै वडामा १ सय २० वटा आधारशिला तालिम समूहका लगभग ३ हजार महिलाले जिविकोपार्जन गर्न कृषि, पशु तथा डेरी सम्बन्धीत विभिन्न सीपहरु सिकिरहेका छन् । कतिपयले यसबाट लाभ लिएर कृषि व्यवसाय समेत गर्न पाइला उचालेका छन् ।
यसै मध्येको एक हुन् मटिहानी नगरपालिका ९ सिमरदहीकी बच्ची देवी साफी । उनको २ कठ्ठा खेत हुँदा पनि सीप अभावमा सोचे जस्तो उब्जनी भइरहकेको थिएन । तर हेफरले दिएको आधारशिला तालिमबाट प्राप्त ज्ञान सीपले आफू राम्ररी खेतीपाती गर्न थालेकी छन् । सिजन अनुसारको बाली फलाएर उनी उदारहणीय व्यक्ति बन्नपनि सफल भएकी छिन् ।
आधारशिला तालिम समूह मध्ये उनी अहिले उजाला उद्यमी महिला समूहको सचिव भएर काम गर्दैछिन् । ‘समय समयमा हेफर परियोजनाका सर म्याडम हाम्रो खेतमा बालीनाली हेर्न आउनु हुन्छ । मैले उब्जाएको देखेर प्रसंसा पनि गर्नु हुन्छ । यसले खेतीप्रति मेरो उत्साव बढेको छ।’ खेतीका साथसाथै पशुपालनमा समेत उनले हात हाल्न शुरु गरिसकि छिन् । पशु खरिद गर्न तथा दुग्ध व्यवसाय गर्न ऋणको लागि प्रकृया अघि बढाएको उनको भनाइ छ ।
Sponsored
अचेल श्रीमानलाई पनि विदेश हैन, गाउँमै बसेर काम गर्न सुझाउँछिन् उनी । उनकै छिमेकी रेणु साफी समेत पशुपालन गर्न ऋण पाउन आवेदन दिएकी छन् । उजाला उद्यमी महिला समूहमा तालिम लिएपछि रेणु आफ्नै भरमा जिविकोपार्जन गर्न सक्षम भएकी छन् । ‘श्रीमानको मानसिक अवस्था ठिक छैन । घरमा आय आर्जन गर्ने कोही छैन । यस्तोमा हेफरले मेरो आशाको बाटो खोलिदिएको छ’ उनले भनिन् ।
बच्ची र रेणु जस्तै मटिहानीका धेरै महिला आत्मनिर्भर बन्न हेफरको सहयोग पाएका छन् । जसले उनीहरुमा आशाको किरण छाएको छ ।
यद्यपी, मटिहानी नगरपालिकाको कतिपय ठाउँमा सिंचाइको अभावमा खेती गर्न गाह्रो भएको छ । तर हेफरका प्रतिनिधिहरु समस्या समाधान गर्न आश्वासन दिएको बच्ची देवीको भनाइ छ ।
आत्मनिर्भर बन्नुका साथसाथै सरसफाई तथा वातावरण संरक्षण गर्न समेत हेफरले सिकार्ई रहेको हेफर आधारशिला तालिम अन्तर्गत वर्षा उद्यमी महिला समूहकी अध्यक्ष सितली देवी बताउँछिन् । मटिहानी नगरपालिका ८ की सितली रोजगार व्यवसाय गर्न सक्षम बनाउनुको साथै आफूहरुलाई बोल्न समेत हेफरको तालिमले सिकाएको बताउँछिन् ।
पहिला टोल, सडक फोहर भए पनि खासै वास्ता नगर्ने उनी अब दिनहु घर आँगन सफा गर्छिन् । प्रत्येक सप्ताह सडक, गल्ली सफा गर्न निस्कन्छन् । उनको समूहका सम्पूर्ण महिला आ–आफ्नो घरको कामकाज सकाएर टोल सफा गर्न हिड्ने गर्छन् । उक्त समूहकी कोषाध्यक्ष लालो देवी भन्छिन्,“पहिले हामी छिमेकीहसँग धेरै कुरा साझा गर्दैन्थ्यौँ । कहिलेकाँही झग्डा हुन्थ्यो । तर समूहमा आएपछि सर म्याडमले मिलिजुली बस्न, वातावरण सफा गर्न र समस्या साझा गरी हल निकाल्न सिकाउनुभयो । हामी खुसी भएका छौँ । हाम्रो समय बदलिएको छ । व्यवहार बदलिएको छ ।” अब आफूहरु घरको जोहो गर्न आयआर्जन गर्न सक्ने उनको भनाइ छ ।
हेफर इन्टरनेशनल नेपालको ३० प्रतिशत लगानी र मटिहानी नगरपालिकाको ७० प्रतिशतलगानीमा सञ्चालित कृषि तथा पशुविकासमा आधारित सानाकिसान युवा उद्यमशिलता विकास परियोजनाले विशेषतः महिलाहरु कृषि केन्द्रित हुनपुगेको परियोजना संयोजक महेश राययादव बताउँछन् ।
यादवका अनुसार हेफर इन्टरनेशनल नेपाल हाल नेपालको ५० जिल्लामा काम गरिरहेको छ । मधेश प्रदेशमा जनकपुरमा हेफर परियोजनाको कार्यालय छ । महोत्तरीको दुईवटा पालिकामा हेफरले कार्य गरिरहेको छ ।
रतौली युवा क्लवको साझेदारीमा मटिहानीमा चलेको यस परियोजनामा १ जना परियोजना संयोजक, १ प्राविधिक संयोजक, १ जना लेखा, ९ जना सामुदायिक सहजकर्ता र १ जना फोकल पर्सन गरी जम्मा १३ जनाकार्यरत छन् ।
एनका अनुसार प्रशासनिक तथा प्राविधिक खर्च व्यहोरेका हेफर इन्टरनेशनल नेपालको हेफर परियोजना मटिहानी नगरपालिकामा “स्वाबलम्बी उद्यमी महिला समूह”को निमार्ण गरेको छ ।
२९ वटा मूल समूह रहेको मटिहानीमा गत आर्थिक वर्षको जुन ३० सम्म एक घरबाट एक महिला गरी ८ सय जना आवद्ध भएको र उनीहरुलाई आधारशिला तालिम दिएको संयोजक यादव बताउँछन् ।
उनका अनुसार तालिमबाट समूह व्यवस्थित भइसकेपछि उनीहरुलाई कृषि मेसिन औजारहरु मध्ये १५ थान पावरडिलर, ७ थान थ्रेसर, ८ थान मिनिटिलर र ३५ थान पशुको निम्ति आहारा काट्ने चापकटर मेसिन गत साउन २ गते वितरण गरिएको थियो । यसपश्चात फेरि ९१ वटा समूहको निमार्ण गरि आधारशिला तालिम दिइएको छ । ६० वटा समूहले तालिम प्राप्त गरिसकेको र ४१ वटा समूहको जारी रहेको छ ।
यता, आधारशिला समूहमा महिलाहरु आफै स्वावलम्बी कसरी बन्ने भने विषयमा काम गर्दै आएको कृषि तथा पशुविकासमा आधारित साना किसान युवा उद्यमसिलता विकास परियोजना अन्तर्गत सामुदायिक सहजकर्ता चन्दनकुमार राना बताउँछन् । हेफर आधारशिला तालिम मुख्य १२ वटा आधारशिलाहरु रहेको छ ।
जसमा ‘उपहार प्रदान’, ‘उत्तरदायित्व’, ‘मिलिजुली स्याहार, बाँडीचुँडी उपभोग’, ‘दिगोपन रआत्म–निर्भरता’, ‘पशु तथा स्रोतको उचित व्यवस्थापन’, ‘पोषण, स्वास्थ्य र आयआर्जन’, ‘लैगिंक र परिवार केन्द्रित’, ‘वास्तविक आवश्यकता र न्याय’, ‘वातावरण सुधार’, ‘पूर्ण सहभागिता’, ‘तालिम शिक्षा र सञ्चार’, ‘आध्यात्मिकता’ गरी १२ वटा आधारशिला रहेको छ । तालिममा यी सम्पूर्ण बारे शिक्षा दिने गरेको सामुदियक सहजकर्ता रानाको भनाइ छ ।
वातावरण सरसफाई, मिलिजुली बस्ने, एकआपसमा सहयोग र आत्मनिर्भर कसरी बन्ने मुख्य योजना रहेको अर्को सामुदायिक सहजकर्ता विकास कुमार महतो बताउँछन् । सहजकर्ता महतोका अनुसार, मटिहानी नगरपालिका वडा नं. २ सानो धिरापुरकी हिरा देवी सहनीले खेती किसानी गर्न सहयोग पाएकी छन् ।
माछापालन सुरु गर्ने योजना अन्तर्गत उनले ऋणको लागि प्रकृया समेत पूरा गरि सकेकी छन् ।
हिरा देवीका अनुसार माछापालन गर्ने आफ्नो पुस्तैनी व्यवसाय रहेको तर अर्थ अभावमा केही गर्न नसकेपछि श्रीमान् विदेशीएका हुन् । हेफरले सहयोग गर्ने भनेपछि माछापालन गर्ने हिरादेवी आँट गरेकी छन् ।
हेफर परियोजनाबाट कृषि बैंकले हिरादेवी सहनीलाई खेती व्यवसायी गर्न ४ महिना अघि ऋण उपलब्ध गराइसकेको छ । जसले उनी आफ्नै खेतमा आधुनिक रुपमा कार्य गर्न सक्षम भएकी छिन् । “हेफरले सिकाएको कुरा समूहमा बसेर काम गर्ने, समस्या साझा गर्ने कुराले पहिले घरबाहिर आफन्त बाहेकसँग बोल्न डराउँथे । अहिले मज्जाले बोल्छु” उनी भन्छिन् ।
श्रीमान विदेश रहेको र छोराहरु स्कुलमा पढिरहेका छन् । पहिले आर्थिक अवस्थाले दयनीय रहेको उनको परिवारमा धेरै सुधार आएको छ ।
हेफरले कार्य गर्नेमा प्राय लाभान्वित हुनेहरु मध्ये ९९ प्रतिशत महिला छन् । हेफर सन् १९९७ मा नेपालमा किसानहरूलाई खाद्य सुरक्षा सुधार गर्न र गरिबी घटाउन सहयोग गर्ने कार्य सञ्चालनको थालनी गरेको थियो । नेपालमा ४ लाखको हाराहारीमा किसान तथा कृषिमा आवद्ध महिलाहरु लाभान्वित भएको संस्थाको दावी छ ।