चार लाख नेपालीलाई विदेशबाट तुरुन्तै घर फर्किने चाहना, के गर्दै छ सरकार ?
टुडेपाटी
काठमाडौ, बैैशाख २४
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका चार लाखभन्दा बढी नेपाली श्रमिक घर फर्किन चाहेको बताएको छ।
बुधबार प्रतिनिधि सभाको श्रम, तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिको बैठकमा श्रममन्त्री रामेश्वर राय यादवले उक्त कुराको जानकारी गराएका हुन्।
मन्त्रालयका अनुसार विदेशमा ४ लाख ७ हजार नागरिक तत्काल स्वदेश फर्किन चाहेका छन्। तीमध्ये १ लाख २७ हजारलाई तत्कालै उद्धार गर्नुपर्ने अवस्था छ। उनीहरुमध्ये कसैको भिसाको अवधि सकिएकाे छ भने कोहीले आममाफी पाएका छन्।
Sponsored
मन्त्रालयका अनुसार मलेसियाबाट सात हजार, कतारबाट ७५ हजार, साउदी अरबबाट २० हजार, संयुक्त अरब इमिरेट्स (युएई)बाट १२ हजार, कुवेतबाट ९ हजार, बहराइनबाट ३ हजार ५ सय र ओमानबाट ५ सय श्रमिक तत्काल फिर्ता गर्नुपर्ने छ।
वैदेशीक रोजागारीका लागि विभिन्न ७ देश पुगेका नेपालीको संख्या १३ लाख ४८ हजार ८ सय ७२ रहेको छ। ती मध्ये २ लाख ८० हजारले कोरोनाका कारण तत्काल रोजगारी गुमाएका छन्।
जसमा मलेसियमा ३० हजार, कतारमा ७० हजार नेपाली श्रमिकले रोजगfरी गुमाउने मन्त्रलायलको आकलन छ। त्यस्तै साउदी अरबमा एक लाख नेपाली श्रमिक बेरोजगार हुने मन्त्रलायले जनाएको छ। युएईमा ५५ हजार नेपाली बेरोजगार हुनेछन् भने कुवेतमा १५ हजारले रोजगारी गुमाउनेछन्। त्यस्तै बहराइनमा ७ हजार र ओमानमा ३ हजार बेरोजगार हुनेछन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ४० हजार नेपाली नागरिकलाई देश फर्काउनेबारे उच्च तहमा छलफल चलिरहेको छ। हाल तत्काल चार लाख नेपाली आफ्नो देश फर्किन चाहिरहेका छन्।
स्रोतका अनुसार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली यसबारे विभिन्न देशका नेपालस्थित राजदूतावासहरूसँग छलफलमा सक्रिय छन्। ‘कम्तीमा ४० हजारलाई केही दिनभित्रै नेपाल ल्याउन खोजिएको छ,’ दूतावासहरूसँगको छलफलमा सक्रिय अध्यागमनका एक अधिकारीले भने।
मन्त्रालयले कस्ता नागरिकलाई नेपाल ल्याउने भन्नेबारे मोडालिटी बनाउँदैछ। ‘८-१० दिनभित्र टुंगो लाग्न सक्छ,’ ती अधिकारीले भने।
कोरोना महामारीको बेला स्वदेश फर्किन चाहने विदेशमा रहेका नेपालीहरू संख्या उल्लेख्य छ। कोभिड-१९ को महामारीमा त्यस्ता नेपालीलाई नेपालमा ल्याएर कहाँ कसरी व्यवस्थापन गर्ने चुनौती सरकारलाई छ।
कोभिड सिलसिलामा वैदेशिक रोजगारीमा रहेका दुई थरी नेपाली नागरिक अहिले देश फर्किन खोजिरहेका छन्।
मन्त्रालयका अनुसार कन्ट्रयाक्ट सकिएर नेपाल आउन खोजेका, आर्थिक संकटले कम्पनी बन्द भएर बेरोजगार भएका नेपालीहरूको अवस्था र प्रभाव आँकलन भइरहेको छ। ‘हामीले यस विषयमा श्रम तथा रोजगार मन्त्रालय र सम्बन्धित देशका दूतावाससँग समन्वय गरेर प्रभाव आँकलन गरिरहेका छौं,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने।