नेपालका सांसदहरूको कोरोना परिक्षण शुरु, बैठकमा सहभागी हुन यस्तो सतर्कता
टुडेपाटी
काठमाडौंं, बैशाख २५ गते ।
काटशुक्रबार सुरु हुने संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्न आज (बिहीबार) सांसद तथा सचिवालयका कर्मचारीको कोरोना भाइरसको पीसीआर परीक्षण गर्न स्वाव संकलन सुरु भएको छ ।
आज संसदका सबै सांसदको स्वाब संकलन गरी परीक्षणका गर्न राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाउन लागिएको संसद सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभा सदस्यको पीसीआर परीक्षणका लागि स्वाव संकलन बिहान १० बजेबाटै सुरु भएको छ । प्रतिनिधिसभा सदस्यका लागि भने ११ बजेदेखि संकलन गरिने छ ।
अहिले राष्ट्रियसभा सांसदको संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्वाब संकलन भइरहेको संसद सचिवालयले जनाएको छ। सांसद र कर्मचारी समेत गरि पाँच सय जनाको पीसीआरु परीक्षण गर्ने तयारी छ। प्रतिनिधि सभामा दुई सय ७५ र राष्ट्रिय सभामा ५८ जना सांसद छन्।
Sponsored
संघीय संसदको दुबै सदनको वर्षे अधिवेशन वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको छ । अधिवेशन सुरु हुनुअघि कोरोना भाइरस रोकथामबारे छलफल गर्दा सांसदहरुले कोरोनाको प्रयोगशाला परीक्षणकै सुझाव दिएका थिए । चिकित्सकहरुले पनि परीक्षण गर्न सुझाव दिएपछि आज दुवै सदनका सांसदको स्वाव संकलन गरिएको हो ।
यसअघि वैशाख १८ गते स्वास्थ्य सेवा विभाग, टेकुका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत पोख्रेलसहितको टोलीले संसद भवनको स्थलगत अनुगमन गरेको थियो । त्यस क्रममा चिकित्सकहरुले संसद भवन छिर्नेहरुको दुई दिनअघि नै पीसीआर विधिबाट कोरोना परीक्षण गर्न सुझाव दिएका थिए ।
यसैबीच मंगलबारको कार्यब्यवस्था परामर्श समितिले संसद बैठक सञ्चालन गर्दा उच्च सर्तकता अपनाउने निर्णय गरेको छ । संसद भवन प्रवेश गर्दा हात धुने, स्यानिटाइजर लगाउने व्यवस्था हुनेछ । त्यसपछि ज्वरो नाप्ने, ज्वरो देखिए संसद भवनकै आइसोलेसन कक्षमा राख्ने र अस्पताल लैजाने व्यवस्था गरिएको छ । सांसद र संसद सचिवालयका कर्मचारीले मास्क अनिवार्य लगाउनुपर्छ ।
संसद बैठकमा एउटा सांसदले बोलेपछि माइक स्यानिटाइज गरेर मात्र अर्को सांसदले माइक समात्नुपर्नेछ । सभाहलमा हरेक टेबलमा स्यानिटाइजर राखिनेछ ।
सांसदहरुलाई छलफलमा भाग लिँदा ड्यासमा नगई बसेकै ठाउँबाट बोल्ने व्यवस्था गर्न पनि कार्यव्यवस्था परामर्श समितिले सुझाव दिएको छ ।
बैठकमा भाग लिन आउने सांसदाई गाडीले ल्याउने र पुर्याउने व्यवस्था पनि गर्नेछ ।