TodayPati

‘कर्मचारीतन्त्र सुध्रिने कुनै छाँटकाट छैन’

विनय यादव (पत्रकार)

म विधिको शासनमा विश्वास गर्छु । यो देशमा जसरी भीआइपीले सेवा पाउँछन्, त्यसैगरी सामान ढंगले एउटा आम मान्छेले पनि सेवा पाउनुपर्छ भन्ने मान्यता मेरो हो । किनकि, यहाँ कोही मंगलग्रहबाट आएका छैनन् । त्यसैले कतै पनि कुनै कामका लागि म आफ्नो परिचय हतपत दिन्नँ ।

जहाँका कर्मचारीले चिनेका हुन्छन्, त्यहाँ पनि म सकभर प्रक्रियागत रूपमा अन्य सेवाग्राही झैं काम गराउने प्रयत्नमा हुन्छु । कसैको कुनै सिफारिस गर्न पनि चाहिरहेको हुन्नँ । किनकि अरु जस्तो म आफ्नो नाम र पेशाको दुरुपयोग कतै पनि गर्न चाहन्नँ ।

Sponsored

तर, अफसोस यो देशको कर्मचारीतन्त्र सुध्रिने कुनै छाँटकाट नै छैन । सामान्य कामका लागि पनि उनीहरूलाई ’भीआइपी परिचय’ नै चाहिने रहेछ । आम नागरिक उनीहरूको डिक्सनरीमा नै रहेनछन् ।

म आज काम विशेषले सिरहा सदुरमुकाममा थिएँ । संयोगले सडकमा एकजना मिटरब्याज पीडितले मलाई देखेछन् । कर्मचारीको रबैयाबाट परेसान भएका उनी मलाई सारा कुरा सुनाएँ । उनले एकजना साहुविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका रहेछन् । जिल्ला प्रशासनबाट फोन गएपछि पीडक छलफलका समय लिन्छन् । तर, उनी आउँदैनन् । पीडक नआएपछि छलफल हुन सकिरहेको छैन । पीडकले समय लिएको दिन आर्थिक रुपले विपन्न ती पीडित अरुसँग पटकपटक सापटी लिएर भएपनि जसोतसो सिरहा पुग्न त पुग्छन् । तर, पीडक उपस्थित नहुँदा उनी त्यहाँ पुगेको व्यर्थ हुन पुग्छ ।

साहुलाई त्यहाँका कर्मचारीले नाम मात्रैका फोन गर्छन् । सहजै नसुनेपछि पीडकलाई कानुनी कठघरामा उभ्याउन थुप्रै नयाँ कानुनी विकल्प हुँदाहुँदै पनि कर्मचारीले त्यसो नगरिदिँदा पीडित जिल्ला प्रशासन धाउँदा–धाउँदा हैरान छन् । आज फेरि त्यस्तै भयो । पीडित त्यहाँ पुगेपछि मिटरब्याज घटना मेलमिलाप कक्षमा काम गर्ने अनुसन्धानका डीएसपीले ११ बजेतिर पीडकलाई फोन गरे । पीडकले आज पनि ढाँटेपछि उनले आज प्रहरी पठाएर भएपनि ल्याउने आश्वासन पीडितलाई दिए । तर, तीन बजेसम्म पनि उनी नआएपछि म डीएसपी कहाँ पुगेँ ।

Sponsored

उनलाई सोधेँ – उहाँको पीडक आयो ? खुट्टामाथि खुट्टा राखेर मोबाइलमा ब्यस्त रहेका र मसँग चिनजान नभएका उनी झर्केर जवाफ फर्काए – हत्तेरी आउँछन् नि । उनीसँगै एकजना नेपाल प्रहरीका असई पनि थिए । म पत्तो लगाउँदा खासमा उनीहरूले यसका लागि सम्बन्धित प्रहरी कार्यालयसँग समन्वय नै नगरेका रहेछन् ।

म त्यहाँबाट चुपचाप निस्केर अर्को फाँटमा गएँ । पीडकलाई उपस्थित गराउनका लागि प्रहरीको नाममा पत्र लेख्न लगाएँ । जिल्ला प्रशासनको पत्रको आधारमा जिल्ला प्रहरीले फेरि सम्बन्धित प्रहरी कार्यालयको नाममा अर्को पत्र काट्नुपर्छ । यसका लागि त्यो पत्र लिएर पीडितसँगै म पनि जिल्ला प्रहरी कार्यालय पुगेँ । म त्यहाँको क्यान्टिनमा बसेँ । ती पीडितलाई काम गराएर आउन भनेँ । ५–१० मिनेटको कामका लागि म एक घण्टासम्म त्यहाँ कुरिरहेँ, उनी काम सकाएर आएनन् ।

वाक्क लागेपछि म भित्रै गएँ । यहाँ पनि उनलाई प्रहरी कर्मचारीले झुलाउँदा झुलाउँदा परेसान गरेका रहेछन् । म आफ्नो परिचय नदिई यतिकै बसेर दिन काटिरहेका प्रहरीलाई भनेँ – के हो यो ? सेवाग्राहीको काम गर्नुपर्दैन ? त्यसपछि रिसले उनको आँखा आगो भयो । उनले मलाई रिसाएर धन्न केही भन्न नपाउँदै संयोगले चिनेका दुई जना मान्छे त्यहाँ आएछन्, र एकजनाले मलाई पत्रकार महोदय, अर्कोले विनयजी भनिदिएछन् ।

त्यसपछि बल्ल उनी खुरुखुरु काम गरेर आदरभावका साथ पत्र पीडितलाई दिए । म ती साना कर्मचारीहरूलाई केही पनि भनिनँ । उनीहरूलाई भन्न पनि के भन्नू ? बिचरो उनीहरू पनि आफ्ना हाकिमबाट न सिकेका हुन् । अभिभावक नै बिग्रेपछि अन्य सदस्य पनि बिग्रिनु स्वभाविक हो ।

उनीहरूको हाकिमलाई पनि गुनासो गरिनँ । गुनासो पनि के गर्नु क्या ? हाकिमको हाकिम, हाकिमको हाकिम, हाकिमको हाकिम सबै बिग्रेकै छन् । सबैले देखासिकी गरेर जनतालाई दिनुसम्मका दुःख दिइरहेका छन् अनि तलब खाँदै दिन काटिरहेका छन् । जनताको करबाट तलब खाने सबै जनताका नोकर हुन् । तर, यो राज्यको भ्रष्ट सिस्टमका कारण उनीहरू शासक बनेका छन् । आखिर कहिलेसम्म ? अति भएन ? अब गुनासो होइन, उनीहरूलाई नांगो पारौं, प्रतिकार गरौं ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *