मधेश प्रदेश : सेवाग्राहीको खाताबाट ९ लाख रुपैयाँ गायब
टुडेपाटी-
रौतहट, जेठ ८ गते ।
चन्द्रनिगापुर स्थित माछापुच्छ्रे बैकको शाखाबाट एक जना सेवाग्राहीको खाताबाट ९ लाख रकम गायब भएको घटना सार्वजनिक भएको छ ।
रौतहटको वृन्दावन नगरपालिका–३ का रामेश्वर राय यादव आइतबार चेक साट्न जाँदा खाताबाट रकम गायब भएको पत्ता लागेको हो ।
उनको खातामा ३ दिन अघि मात्र १२ लाख २० हजार रकम जम्मा गरिएको थियो ।
बिहीबार बिहान यादव आफै १२ लाख २० हजार रकम माछापुच्छ्रे बैंकमा जम्मा गर्न चेक दिएका थिए । उनको खातामा पैसा जम्मा भएको म्यासेज मोबाइलमा शुक्रबार अपराह्न ३ बजे आएको यादवको भनाई छ।
आइतबार कार्यालय समयमा ८ लाखको चेक लिएर बैंकमा साट्न जाँदा खाताबाट ९ लाख पैसा गायब भएको बैंकका कर्मचारीले बताएपछि आफू चकित भएको यादवको भनाई छ।
Sponsored
यादवका अनुसार बैंकको शाखा प्रमुख रामजी दाससँग खाताबाट कसरी पैसा गायब भयो भनेर सोध्दा उनले ह्याकरले पैसा लगेको हुनसक्ने जवाफ दिएका थिए । पैसा हराउँदासमेत बैंकले बेवास्ता गरेको भन्दै स्थानीय तथा आफन्तले बैंकमा जम्मा भएर होहल्ला समेत गरेका थिए ।
लगत्तै इलाका प्रहरी चन्द्रनिगाहपुरबाट बैंकमा गएको प्रहरीको टोलीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।
सेवाग्राही यादवको खाताबाट तीनवटा नम्बरको मोबाइल प्रयोग गरी रकम निकालेको देखिन्छ।
उनको खाताको रकम सिटिजन्स र सानिमा बैंकमा ट्रान्सफर भएको माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुरका प्रमुख दासले बताए ।
यता इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिए ।।