मधेश प्रदेशमा नक्कली नोटको कारोबार बढ्यो
टुडेपाटी–
जनकपुरधाम, जेठ ६ गते ।
मधेश प्रदेशमा नक्कली नोटको कारोबार बढेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार गत साउनदेखिको ९ महिना मा नक्कली नोट कारोबारसम्बन्धी ३१ वटा घटना भएको छ । तीमध्ये रौतहटमा ११ वटा, सर्लाहीमा ६ वटा, सिरहामा ४ वटा, पर्सा र महोत्तरीमा ३–३ वटा बारामा २ वटा तथा धनुषा–सप्तरीमा १–१ घटना भएका छन्।
प्रहरीले यस घटनाहरुमा ३५ जनाभन्दा बढीजनालाई पक्राउ गरेको छ ।
प्रहरीले यस ९ महिनाको अवधिमा २६ लाख ४८ हजार ४ सय रुपैयाँ नेपाली नक्कली नोट, मेसिनहरू र नोट छाप्न प्रयोग हुने ९९ बण्डल कागज बरामद गरेको प्रदेश प्रहरी कार्यालय, जनकपुरले जनाएको छ।
आर्थिक वर्ष २०७८/७९ मा प्रदेशका ८ वटै जिल्लाबाट २९ लाख ३४ हजार ९२० रुपैयाँ नेपाली नक्कली नोट र ३ लाख ७८ हजार ९७० रुपैयाँ भारतीय नक्कली नोट बरामद गरेको थियो ।
Sponsored
आर्थिक वर्ष २०७७/७८ मा ३० लाख ११ हजार ६ सय रुपैयाँ नेपाली नक्कली नोट बरामद भएको थियो। सोही आर्थिक वर्षमा प्रहरीले ९७ हजार भारतीय नक्कली नोट पनि बरामद गरेको थियो।
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले नक्कली नोट कारोबारले देशको अर्थतन्त्र ध्वस्त पार्ने भएकाले अपराधको सूचना प्राप्त हुनासाथ प्रहरी कारबाहीमा उत्रिने गरेको बताए ।